बाढीले कर्णाली पुलका सामान बगायो


३ कार्तिक २०७८, बुधबार
badhi1
फाइल फोटो

सुर्खेत, ३ कातिक । कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो ।

अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो । बाढीले क्रेन भने डुबाएको छ । बाढीले पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरीचौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो ।

त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किलोमिटर टाढा स्थानान्तरण गरिएको हो ।

अविरलको वर्षाले सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ–ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७