माधव समूह बाहिरिएपछि एमाले एकढिक्का छ : ओली

एक साथ ६,७४३ वडाको अधिवेशन उद्घाटन


६ कार्तिक २०७८, शनिबार
kp sharma oli nCAkzXpDjq

काठमाडौं, ५ कात्तिक । माधवकुमार नेपालले आफ्नो समूह लिएर बाहिरिएपछि पार्टी एक ढिक्का रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् । देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पार्टीमा कुनै समस्या नरहेको दाबी गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्धसाथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट वडा अधिवेशनहरूलाई शनिबार सम्बोधन गर्दै ओलीले विगत डेढ वर्षयता पार्टीमा समस्या देखिएको तर अहिले त्यस्तो समस्या बाँकी नरहेको बताएका हुन् । ‘पार्टीमा एउटा सकारात्मक कुरा के देखिएको छ भने अब पार्टी एक ढिक्का छ । पार्टीको बदनाम गर्ने, बेइज्जत गर्ने र बढाइचढाइ पार्टीभित्रका समस्या देखाउने कुरा रहेन,’ ओलीले भने, ‘प्रचण्डले पार्टी छोडेर बहिर्गमन गरेपछि र माधव गुटले फरक ढंगले प्रस्तुत भइसकेपछि पार्टी नयाँ ढंगले अगाडि बढेको छ ।’

पार्टीलाई यसबीचमा सरकारबाट हटाउने खेल पार्टीभित्र र बाहिर साँठगाँठमा भएको ओलीको भनाइ थियो । पार्टीभित्र देखिएको विवादले कम्युनिस्ट आन्दोलनको भविष्य खतरामा परेको उनले बताए । एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न लागेको उनको भनाइ थियो ।

पार्टीभित्रको विवादले विकासका प्रयासमा व्यवधान पुर्‍याएको पनि उनले बताए । देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएको पनि उनको भनाइ थियो । केही समययता पार्टीमा अनुशासनहिनता, अराजकता हाबी भएको भन्दै ओलीले विरोधी उत्साहित र कार्यकर्ता निराश भएका बताए ।

उपाध्यक्ष भीम रावलले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको असार २७ को १० बुँदे कार्यान्वयन नभएको भन्दै स्थायी कमिटीमा फरकमत लेखेको भोलिपल्ट नै अध्यक्ष ओलीले पार्टीभित्र विवाद बाँकी नरहेको दाबी गरेका हुन् । एमालेको पालिका अधिवेशन कार्तिक ९ गतेका लागि तय गरिएको छ । ओलीले गरेको वडा उद्घाटन इन्टरनेट पहुँच भएका वडामा समेत उद्घाटन कार्यक्रम ‘डिस्प्ले’ गरिएको छ ।

पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँच जना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिने छन् । अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ । उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७