५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागुऔषध तस्कर पक्राउ


७ कार्तिक २०७८, आईतवार
Dairo Antonio Usuga

काठमाडौं, ७ कात्तिक । अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको कुख्यात लागुऔषध तस्कर कोलम्बियामा पक्राउ परेका छन् ।
कोलम्बियाको ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता डेरो एन्टोनियो उसुगा पक्राउ परेका हुन् । ओटोनियल नामबाट चर्चित उसुगालाई सेना, हवाई बल र प्रहरीको संयुक्त कारबाहीपछि शनिबार पक्राउ गरिएको हो ।

कोलम्बिया सरकारले ओटोनियलको बारेमा सूचना दिनेलाई आठ लाख डलर पुरस्कार घोषणा गरेको थियो । राष्ट्रपति इभान ड्युकले ओटोनियलको गिरफ्तारी लागुऔषध तस्करीविरुद्ध यो शताब्दीकै सबैभन्दा ठूलो सफलता भएको बताएका छन् ।

ओटोनियल कोलम्बियाको उत्तर पश्चिम क्षेत्रको एक ग्रामीण इलाकाबाट पक्राउ परेका हुन् । यस कारबाहीको विस्तृत विवरण अझै आइसकेको छैन । सो कारबाहीमा एकजना प्रहरी अधिकारी मारिएको राष्ट्रपति ड्युकले बताए । पक्राउपछि कोलम्बियाका सुरक्षा बलहरूले हतकडी लगाएका ओटोनियललाई सुुरक्षा पहरा दिइरहेको तस्बिर सार्वजनिक गरेका थिए ।

५० वर्षीय ओटोनियललाई पक्राउ गर्न वर्षौदेखि हजारौं प्रहरीहरू संलग्न अभियानहरू भए पनि सफल हुनसकेको थिएन । १० वर्षअघि नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीको कारबाहीमा उनको दाजुको मारिएपछि ओटोनियल गल्फ क्लान भनिने समूहको प्रमुख बनेका थिए । सो गिरोहलाई कोलम्बियाले देशकै सबैभन्दा शक्तिशाली आपराधिक संगठनको रूपमा लिएको थियो भने अमेरिकाले सशस्त्र र अत्यन्त हिंस्रक समूहको रूपमा चित्रण गरेको थियो ।

उक्त गिरोहमा १८ सय सशस्त्र सदस्यहरू रहेको ठानिएको छ । टाढाका देशहरू अर्जेन्टिना, ब्राजिल, होन्डुरस, पेरु स्पेनबाट यसका सदस्यहरू पक्राउ परेका छन् । यस गिरोहले कोलम्बियादेखि अमेरिका र अझै टाढा रुसका लागुऔषध तस्करीको लागि प्रयोग गरिने धेरै मार्गहरू नियन्त्रण गरेको बताइन्छ ।

कोलम्बिया सरकारले हालैका वर्षहरूमा यसका सदस्यहरूलाई कम गरिरहेको बताएको छ । ओटोनियलले अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकारीको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गरेकालगायत थुप्रै आरोपहरू लगाइने बताइएको छ ।

सन् २००९ मा अमेरिकामा आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकोले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चालेर अन्ततः न्युयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७