अमेरिकाबाट आइपुग्यो एक लाख डोज फाइजर खोप, दीर्घरोगीहरुलाई लगाइने


८ कार्तिक २०७८, सोमबार
pfizer1627480571

काठमाडौं, ८ कात्तिक । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको एक लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज (सोमबार) नेपाल आएकाे हाे । यसअघि अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने जानकारी दिए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई लगाइने सरकारको तयारी छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफमार्फत नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७