मंसिरभित्र महाधिवेशन सक्ने कार्यतालिका ल्याउन देउवाको आग्रह


९ कार्तिक २०७८, मंगलवार
deuwa 1

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शीर्ष नेता र निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका हुन् ।

‘बैठकमा निर्वाचन कार्यतालिकाबारेमा छलफल भयो । मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई सभापति ज्यूले निर्देशन दिनुभयो । बाँकी विषयमा तत्कालै केन्द्रीय समिति बसेर टुंग्याउने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत र निर्वाचन समितिमा रहेका नेताहरुको उपस्थिति थियो । कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन सकिएको छ ।

तर, बाँकी १३ मध्ये रौतहट र रसुवाको भने क्रियाशील सदस्यता नै टुंगिएको छैन । एकै पटक अधिवेशन गर्ने शर्तमा अरु ११ जिल्लाको अधिवेशन पनि रोकिएको छ । निर्वाचन समितिले सोमबारै अधिवेशन हुन बाँकी रहेका हिमाली जिल्लामा तिहारअघि अधिवेशन गरिसक्ने निर्णय गरिसकेको छ । कांग्रेसले आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोके पनि त्यहीअनुसार तल्ला तहको अधिवेशन भने गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७