राणा सरकारले प्रतिबन्ध लगाएको ठाडाखानीको तामाखानी उत्खननको पर्खाइमा


१० कार्तिक २०७८, बुधबार
tama khani scaled

म्याग्दी, १० कात्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खननको पर्खाइमा छ । रुमले भिरमा अवस्थित उक्त तामाखानी वि.सं. १९७१ सालअघि सञ्चालनमा आए पनि त्यसपछि भने बन्द भएको थियो ।

तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण सो तामाखानी बन्द भएको हो । उक्त तामाखानी हालसम्म पुनः सञ्चालनमा ल्याउन कुनै पहल हुन सकेको छैन । तत्कालीन समयमा तामाखानी उत्खनन् गरे वापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाका बताउँछन् । त्यसपछिका राजनीतिक परिवर्तनपश्चात पनि उक्त तामाखानी सञ्चालनमा आउन सकेको छैन ।

‘राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थिए, चार वर्ष बित्यो, कुनै पहल भएन’, स्थानीय गिरी छन्त्यालले भने । ठाडाखानीमा छन्त्याल र विक जातिका मानिस बसोबास गरेको बस्ती हो । १०६ वर्ष अघि उनीहरु रुमले भिरको तामाखानी उत्खनन् गरी तामासँग अन्न साँट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताए । रुमले भिरमा पाँच सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट २०० मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक करोडौं आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७