देउवाको हेलचेक्र्याइँले कांग्रेस इतिहासकै कमजोर : प्रकाशमान सिंह


१४ कार्तिक २०७८, आईतवार
Prakashman Singh 12khari1632557518

कीर्तिपुर, १४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले गरेको अलोकतान्त्रिक कामको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।

कांग्रेस कीर्तिपुर नगर समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वले हेलचेक्र्याइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता–कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्नेमा जोड दिए ।

‘पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफैं समाधान गर्ने हो’, उनले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’ पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको नेता सिंहको भनाइ थियो ।

पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो । विधि र पद्धतिको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छाडे जनताले विश्वास नगर्ने सिंहको टिप्पणी थियो । देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसभित्र विधि–पद्धति जोगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतिको स्थापना गर्नु पर्दछ,’ उनले भने, ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७