मनरुपाको दुःख : पहिराेले २६ वर्षअघि साइँलो छोरो पुर्‍यो, अहिले काइँलो


१८ कार्तिक २०७८, बिहीबार
pahiro

पाँचथर, १८ कात्तिक । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ । बसाइँ सरेर जाने ठाउँ पनि छैन ।

ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदैछ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन । ६२ वर्षीया मनरुपाले पहिरोकै कारण दुई छोरा र चार जना आफन्त गुमाउनुपरेको छ तर अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उनका दिन बितिरहेका छन् ।

‘मेरो त भाग्य नै यस्तै होला’, गहभरि आँशु पार्दै मनरुपाले भनिन्, ‘पापी पहिरोले पहिला साइँलो छोरा लग्यो, अहिले काँइलो ।’ २६ वर्षको अन्तरालमा दुई छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त र उदास छिन् । जोखिमपूर्ण बस्ती रहेको मिक्लाजुङ–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो ।

मनरुपाका अनुसार विसं २०५२ मा गएको पहिरोमा उनका साइँलो छोरासहित उनकी बहिनी, बहिनीका दुई छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए ।

यस वर्ष बेमौसमी वर्षापछि पुस्तौँदेखि खेती गर्दै आएको बारी तथा भिरपाखा भत्किए । मनरुपाका काइँला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए । गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए ।

क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पु–यो । उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएका घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन । ‘हामी यस्तैमा बसेका छौं । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ’, मृतक सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन् ।

सात दलितसहित अठभैयाका नौ परिवार वर्षौंदेखि जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका बीचमा रहेको पाखामा घर बनाएर बसेका दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भनिन्, ‘अलिअलि पहिरो वर्षौंपिच्छे गइरहेको थियो । यसपालि ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो ।’ तर पीडितले जोखिममा गुजारा चलाउँदै आएका भए पनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन ।

पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोषको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् । ‘पहिले मेरो छोरोसहित आफन्त बित्दा सरकारले सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओछ्याउने दिएको थियो’, मनरुपाले भनिन्, ‘यसपालि हामीलाई हेर्न कोही पनि आउनु भएन ।’

हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीको छ । बाढी र पहिरामा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना बेपत्ता छन् । यहाँ सडक, विद्युत्, खानेपानी, सिँचाइ, घर तथा गोठ, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतबारी तथा कृषिउपजमा बाढी र पहिराले निकै ठूलो क्षति पुर्‍याएको छ ।

बाढी र पहिराले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तव्यस्त हुँदा क्षतिको पूर्ण विवरणसमेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बेमौसमी वर्षाका कारण बाढी र पहिराले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७