काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनु पर्छ : प्रकाशमान सिंह

‘भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक जित्छन्’


१९ कार्तिक २०७८, शुक्रबार
Prakash man shingh
फाइल फोटो

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनु पर्ने बताएका छन् ।

आज (शुक्रबार) नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको बताए । उनले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको दाबी गरे । नेपालका कम्यूनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।

‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाईको कम्यूनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’ नेता सिंहले भने, ‘कम्युनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्यूनिष्टहरुले मात्रै सक्छन् ।’

नेता सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमाथि कटाक्ष गर्दै नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढे लेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरु आउँछन् । काम केहि गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटक–पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरुको पर्दाफास भएको छ ।’

काठमाडौं क्षेत्र नं. १ नेता सिंहको निर्वाचन क्षेत्र हो । उनी २०६४ सालदेखि यही क्षेत्रबाट निरन्तर निर्वाचित छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विवेकशील साझाका अध्यक्ष मिश्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७