कांग्रेस महाधिवेशन : व्यवस्थापन समिति गठन, सातै प्रदेशमा तोकियो संयोजक


२८ कार्तिक २०७८, आईतवार
congress

काठमाडौं, २८ कात्तिक । सत्तारुढ नेपाली कांग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको छ । कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतबार) प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो । यस्तै महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ ।

देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताहरुलाई संयोजक तोकिने छ । प्रदेश–१ को संयोजकमा कृष्ण सिटौला, प्रदेश–२ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने गरी निर्णय भएको छ ।

नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाइएको बताइएको छ । पदाधिकारी बैठकमा भएको सहमति केन्द्रीय कमिटी बैठकमा पेश भएर अनुमोदन हुने काँग्रेस नेताहरुले बताएका छन् । बैठक देउवाको नीति निवास बूढानीलकण्ठमा सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७