एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस, पाँच लाख बढी जनसहभागिता


१ मंसिर २०७८, बुधबार
thumb 9

चितवन, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो ।

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो संख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्व तयारी गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने छ ।

माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिए ।

कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैंडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने सवारीलाई गैंडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

जुलुसमा सहभागिताका लागि नेतृत्वकर्तालाई निर्देशनसमेत जारी गरिएको छ । उनीहरुलाई के–कसरी सहभागी गराउने, व्यवस्थित र मर्यादित बनाउने भन्नेबारे निर्देशन दिइएको हो । नेकपा एमालेको १० औं महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनार र बन्द सत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ ।

एमालेको १०औं महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । उनीहरु बस्नका लागि सौराहास्थित क्षेत्रीय होटल सङ्घसँग तीन हजार पाँच सय जना अट्ने कोठा सम्झौता गरिएको छ । सौराहामा ६ हजार ५०० जना अट्ने क्षमता छ । अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको सङ्घले जनाएको छ । प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरू हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७