एमाले महाधिवेशन : ११ जिल्ला र ६ संगठनबाट प्रतिनिधिको विवरण आउन बाँकी


१ मंसिर २०७८, बुधबार
amale 1

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । ‘महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसंगठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ’, उनले भने, ‘तर केही प्रक्रिया पु¥याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।’

यस्तै २२ जन सङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उनको भनाइ छ । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण नआएको हो । उनले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताए । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँच जनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।

यही मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनका लागि धेरै जसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताए ।

चितवनमा हुने महाधिवेशनमा देशैभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ । महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७