प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, अब नयाँ नियुक्ति गर्नुपर्छ : शम्भु थापा

‘न्याय बेचेर भाइ–भारदार धनी बनाउने सरकारसँग भाग माग्ने ?’


१ मंसिर २०७८, बुधबार
shambhu thapa1637129989

काठमाडौं, १ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन् । आज बुधवार नेपाल बार एसोसिएशनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएशनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन् ।

उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि आन्दोलन गरेको बताए । उनले भने, ‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाई र मैले खाली गरिसक्यौं, कसरी खाली गर्‍यौं, खाली भइसक्यो । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरूको उपस्थिति विना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरू इजलाश बस्न लागेकोतर्फ इङ्गित गर्दै उनले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताए । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेका बेला इजलासमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे । उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरूलाई आग्रह पनि गरे ।

वरिष्ठ अधिवक्ता थापाले आफूहरू भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । उनले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ, त्यो ऐतिहासिक हुन्छ, भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घर जग्गासहित ।’ ‘न्याय बेचेर भाइ भारदार धनी बनाउने, सरकारसँग भाग माग्ने ?’, उनले भने, ‘हामीले प्रधानन्यायाधीशको सिट खालि गरिसक्यौं । हामी गएर प्रश्न सोध्न सक्छौँ तपाईंले कति घुस खानुभएको हो ?’”

उनले आफूहरुविरुद्ध स्टाटस लेख्ने र गलगाँडको रुपमा सडकमा आएका कानुनविदहरु नै रहेको भन्दै आक्रोश व्यक्त गरे ।
वरिष्ठ अधिवक्ता थापाले आफूहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरूलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरूले भ्रष्टाचार गरे÷नगरेको सम्बन्धमा छानबिन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाइ बारको आन्दोलनमा ऐक्यबद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरूलाई आग्रह गरे ।

वरिष्ठ अधिवक्ता थापाले नेपाल बार एशोसिएसनलाई नसोधिकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनै पनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरूलाई खबरदारी गरे । यदि बारको सहमति विना नियुक्ति गरेमा न्याय परिषदबाट फिर्ता बोलाउने अधिकार पनि बारसँग रहेको उनले बताए । उनले भने, ‘खबरदार ! बारलाई नसोधिकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला । तपाईलाई जसरी भोट मागेर पठाइएको छ, त्यसरी नै बोलाउने अधिकार छ । तपाईले नेपाल बारसँग छलफल नगरिकन केही नगर्नुस् । हिजो विज्ञप्ति निकालेको छ कुनै नियुक्ति नहोस् भनेर, वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ ।’

उनले राजनीतिक दलहरूले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्ने बताउनुभयो । न्यायालयको समस्या समाधान गर्ने कि पैसामा न्याय किनिने पक्षमा राजनीतिक दलहरू हो भनी वरिष्ठ अधिवक्ता थापाले प्रश्न गरे ।

नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए । प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजीनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७