कांग्रेस अधिवेशन : काठमाडौंका ६ प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व


४ मंसिर २०७८, शनिबार
congress adhibeshion

काठमाडौं, ४ मंसिर । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले काठमाडांँका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौंका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार भएको अधिवेशनमा ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’, काठमाडौं क्षेत्र नं ७ प्रदेश ‘क’, काठमाडौं क्षेत्र नं ८ प्रदेश ‘क’ र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिए ।

निर्विरोध भएसँगै काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ मा रामप्रसाद लुईँटेल, काठमाडौं क्षेत्र नं ५ प्रदेश ‘क’ मा रमेश डङ्गोल, काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ मा ख्यामराज तिवारी, काठमाडौं क्षेत्र नं ७ प्रदेश ‘क’ मा नविन मानन्धर, काठमाडौं क्षेत्र नं ८ प्रदेश ‘क’ मा इन्द्रमानसिंह सुवाल र काठमाडौं क्षेत्र नं ९ प्रदेश ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् ।

२० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन प्रक्रिया अगाडि बढेपनि काठमाडौं निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’मा भने शनिबार मात्रै निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

यसअघि काठमाडौंको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन् । यस्तै काठमाडौंमा यही मंसिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७