नारायणी किनारमा घनश्याम भुसालका दुःख र खुसी


१० मंसिर २०७८, शुक्रबार
Ghanashyam Bhusal

काठमाडौं, १० मंसिर : आज भन्दा ८ वर्ष अघि अर्थात् २०७१ असार १९ देखि साउन १ । उतिबेला नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको थियो । महाधिवेशनको नारा थियो, ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ ।’ नवौँ राष्ट्रिय महाधिवेशनको रापताप फरक थियो । महाधिवेशन अगावै अनेकौं सभा, गोष्ठी र कार्यक्रम भएका थिए । ती कार्यक्रमहरु मुलत नेतृत्व भन्दा पनि नीति अर्थात् विचारको बहसमा केन्द्रीत थियो ।

एमालेमा खासगरी नेपाली समाजको चरित्र र नेपालको सार्वभौमसत्ताको अवस्थालाई हेर्ने दृष्टिकोणको बिषयमा चर्को विवाद थियो । त्यो बेलासम्म नेपाली समाज अर्धसमान्ती र नेपालको सार्वभौमसत्ताको अवस्था ‘अर्धउपनिवेशी’ रहेको एमालेको व्याख्या थियो । तर घनश्याम भुसालको बिश्लेषण थियो, ‘नेपाली समाज अर्धसमान्ती रहेन । नेपालको सार्वभौमसत्ताको अवस्था ‘अर्धउपनिवेशी’ होइन ।’

तिव्र बहसपछि नवौँ राष्ट्रिय महाधिवेशनबाट भुसालको विचार पारित भयो । नेपाली समाजको चत्रिको बिषयमा एमालेले भन्यो, ‘यसरी नेपाली समाजमा सामन्तवाद मूलभूतरूपमा बिघटित भएको छ । नेपाली समाज प्रारम्भिक प्रकारको पूँजीवादी समाजमा रूपान्तरित भएको छ ।’
१९५० को ‘शान्ति र मैत्री सन्धि’ मार्फत् नेपाललाई भारतीय सुरक्षा छाताको मातहत राख्ने जस्ता कामहरूले निरन्तरता पाए ।

यिनै पृष्ठभूमिमा, नेपालको सार्वभौमसत्ता र स्वाधीनता खण्डित भएको निष्कर्षका साथ नेपाल कम्युनिष्ट पार्टीले नेपाल ‘अर्धऔपनिवेशिक’ अवस्थामा रहेको विश्लेषण गर्दै आएको थियो । तर भुसालको विचारलाई पारित गर्दै नवौं महाधिवेशनले भन्यो, ‘लामो सङ्घर्ष, आन्दोलन र क्रान्तिको शृङ्खलापश्चात् हामी नेपालीहरू आफ्नो संविधान आफै निर्माण गर्ने ऐतिहासिक बिन्दुमा आइपुगेका छौं । कस्तो राजनीतिक प्रणाली, राज्य संरचना र सामाजिक–आर्थिक नीतिहरू अवलम्बन गर्नेभन्ने औपचारिक निर्णय हामी आफैले गर्दैछौं । यसरी एउटा सम्प्रभु राष्ट्रका रूपमा आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै गइरहेको बेला नेपाललाई ‘अर्धउपनिवेशी’ भन्ने शब्दले संबोधन गर्नु उपयुक्त हुँदैन ।’

नवौँ राष्ट्रिय महाधिवेशन भुसालको लागि सुखद रह्यो । किनभने उनको विचार र कार्यदिशा पारित भयो । नेतृत्वको हिसाबले पनि उनी उपमहासचिवमा विजयी भए । भुसालको व्याख्या अनुसार नवौं महाधिवेशनले भन्यो, ‘नेपाली समाजको चरित्र नौलो जनवाद र जबजकालीन अर्धसामन्ती, अर्ध औपनिवेशिक रहेन, अब यो पुँजीवादी समाज हो र यसको मूल चरित्र दलाल पुँजीवादी हो ।’ २०६२ र ६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक बहसमा पनि उनको विचार पारित भयो ।

उनको सैद्धान्तिक निष्कर्ष थियो, ‘नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिष्टहरुको ऐतिहासिक कार्यभार हो ।’ यही निष्कर्ष एमालेको निष्कर्ष भयो ।

तर नवौं महाधिवेशनमा दुईवटा अलग–अलग प्यानलसहित निर्वाचन भयो । भुसाल समूहका अध्यक्षको उम्मेदवार माधवकुमार ५७ मतको अन्तरले केपी शर्मा ओली पराजित भए । नवौँ राष्ट्रिय महाधिवेशनमा भुसालको विचार पारित भए पनि फरक समूहका नेता अध्यक्षमा निर्वाचित भएपछि नवौं महाधिवेशन यता भुसालको एमाले जीवन सुखद रहेन । एक हिसाबले उनी एमालेको फड्के किनाराको साक्षी मात्रै भए । तर आफ्नो विचार राख्न भने भुसालले छोडेनन् । भुसाल बोली रहे । लेखीरहे ।

भुसालले दलाल पुँजीवादविरूद्ध संघर्ष गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्नका लागि त्यस अनुरुपका कार्यक्रम र संगठन निर्माणमा उनले जोड दिइरहे । तर उनको आवाज पार्टीको मुलधारले सुनेन ।

एमालेको नवौं महाधिवेशनको निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भयो । तर त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिष्ट आन्दोलन सैद्धान्तिक रुपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न नसकेको उनले दलिल पेश गर्दै आएका छन् ।

घनश्यामको खुसी

Ghanashyam Bhusal3


यसबीचमा एमालेले एकता, विभाजन, एकताका अनेक आरोह खेप्यो । नेताहरुले अनेकौं अप्ठ्यारा पार गर्नुपर्ने अवस्था आइलाग्यो । त्यही विचमा २०७८ असोज १५–१७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेकपा (एमाले) को प्रथम विधान महाधिवशेन सम्पन्न भयो । उक्त महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावहरू पारित भयो । नीति महाधिवेशनको रुपमा आयोजित यो महाधिवेशनले पनि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विचारलाई अघि बढायो ।

भुसालले स्थापित गरेको विचार ‘दलाल पुँजीवाद विरुद्ध लड्दै राष्ट्रिय पूँजीको बिकास गरेर समाजवाद तर्फ अघि बढ्ने संकल्प नीति महाधिवेशनले गर्यो । खुसीको कुरा त यो थियो, प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पनि भुसालले स्थापित गरेको भाष्य अर्थात् विचार दलाल पुँजीवादको बारेमा व्याख्या गरे । अध्यक्ष ओलीले दलाल पुँजीवाद विरुद्ध लड्ने बताइरहेको बेला मञ्चको छेउमा बसेका भुसाल दंग थिए । विधान महाधिवेशनपछि भुसालले आफू निकटलाई भनेका थिए, ‘कम्तीमा अध्यक्ष ओलीले पनि दलाल पुँजीवाद विरुद्ध लड्ने बताउनुभयो । यो खुसीको कुरा हो ।’

घनश्यामको खुसी यही हो, की नेकपा (एमाले) ले दशौं राष्ट्रिय महाधिवशेन आयोजना गरिरहेको बेला एमालेको विचार नवौं महाधिवेशनकै आलोकमा बिकास भएको छ । २०७८ मङ्सिर १०–१२ गतेसम्म चितवनको नारायणगढ र सौराहामा हुने (एमाले)को महाधिवेशनमा संगठनको हिसाबले उनी सम्भवत दर्शकदिर्घामा वा पर्खालमा उभिएर हेर्ने समान्य दर्शक मात्रै बन्नेछन् । तर एमालेको हिडेको बाटो र उज्यालो चै उनले नवौं महाधिवेशनमा कोरेको मार्गचित्र नै हुनेछ ।

घनश्यामको दुःख
२०७८ मङ्सिर १०–१२ गतेसम्म चितवनको नारायणगढ र सौराहामा नेकपा (एमाले)को महाधिवेशनमा हुदैंछ । विचारको हिसाबले यो महाधिवेशन अघि उतिधेरै बहस भएन । विधान महाधिवेशनले नै टुङ्ग लगाएको भन्ने उत्तर एमाले नेताहरुसँग छ । मैदानको मध्यभागमा देखिने घनश्याम नारायणी नदी किनारमा एमाले उर्लिदै गर्दा उनी मध्यभागमा छैनन् ।

महाधिवेनको पूर्वसन्ध्यामा उनले अपिल जारी गरेका छन् । भनेका छन्,‘अगणित पूर्खाहरुले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारण्टी पनि सिद्धान्त हो : जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरुको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुख पाउँछ । त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेल मैदान बन्छ ।’

मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा रहेको तर सिद्धान्त अनुरुपको कार्यक्रमलाई कार्यान्वयन गर्ने सङ्गठनात्मक व्यवस्थामा असङ्गतिहरु रहेको उनको दाबी छ । उनले भनेको ‘सङ्गठनात्मक व्यवस्थामा असङ्गतिहरु के हुन् ?’ उनले देखेको असङ्गतिलाई सङ्गतिमा बदल्ने अंकगणितको सुविधा भन्दा उनी धेरै टाढा छन् यसपाली। त्यो असङ्गतिलाई नेतृत्वले सङ्गतिमा बदल्ने प्रयास गर्नेछन् वा छैनन् ? । त्यो असङ्गतिलाई प्रतिनिधिले सङ्गतिमा बदल्नेछन् वा छैनन् ? त्यो किनारामा बसेर हेर्नुपर्ने बाध्यता उनको दुःख हो ।

दोहोरो प्रहार
महाधिवशेनको चासो सबैभन्दा बढी एमालेबाट व्रिदोह गरेर पार्टी बनाएका नेकपा (एकीकृत समाजवादी) को नेता तथा कार्यकर्ताहरुमा देखिएको छ । समाजवादीका नेता तथा कार्यकर्ताहरुको अनुमान र आशा छ, ‘एमालेका १० बूँदे सहमति गरेर बसेका १० भाइ निर्वाचनमा पराजित हुनेछन् । र फेरि एमालेमा विद्रोह हुनेछ ।’

यही प्रसङ्गमा समाजवादीका एक सचिवले अध्यक्ष ओली निकट एक केन्द्रीय कमिटी सदस्यसँग गरेको संवादले प्रष्ट गर्छ । केही दिन अघि ती सचिवले भनेका थिए, ‘ओली समूहको जो सुकै जितोस् हामीलाई मतलब भएन । तर ती १० भाईको चहिँ पत्तासाफ हुनुपर्छ ।’

१० बूँदे सम्झौतापछि उनी एमालेमा सक्रिय भए । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तारो उनै घनश्याम भुसालहरुप्रति देखियो । आफ्नो हरेक जसो भाषणमा प्रचण्डले यी दुई भाई लगायत दोस्रो पुस्ताको बिरुद्धमा बोली रहे । गत २०७८ असोज ४ गते एक कार्यक्रममा घनश्याम र योगेशहरुले ओलीसँग ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए । भनेका थिए, ‘तर, फेरि जसले आफूलाई अलि वैचारिक भन्थे ती मान्छेहरु सबैले आत्मसमर्पण गरे । केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई ।’

यसैगरी ७ असोज २०७८ मा पनि प्रचण्डले उही कुरा दोहोराएका थिए । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने बताएका थिए । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गदै प्रचण्डले भने, ‘ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

अध्यक्ष प्रचण्डले पटक पटक यस्तो अभिव्यक्ति दिएपछि एमाले उपमहासचिव घनश्याम भुसालले जवाफ फर्काएका थिए । उनले प्रचण्डलाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिएका थिए । भुसालले सामाजिक सञ्जाल मार्फत भने, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’

प्रचण्डले ओली बिरुद्ध लड्न उनीहरुले आफूलाई उक्साएको दलिल पेश गरेका थिए । तर नेकपा कालमा प्रचण्डलाई घनश्याम र योगेशले पटक–पटक अध्यक्ष ओलीसँग मिल्न भनेका थिए । उनीहरु दुबैले भनेका थिए, ‘कमरेड प्रचण्ड, अहिले तपाई कमरेड ओलीसँग मिलेर अघि बढ्नुहोस् । अनि मात्रै एकता जोगिन्छ ।’

ओलीको विचार र कार्यशैलीसँग गहिरो विमति राखेर हिडिरहने पनि नेकपाको एकताको बचाइराख्न ओली र प्रचण्ड मिल्नु पर्ने प्रष्ट धारण थियो उनीहरुको । प्रचण्डसँग भेटेर उनीहरु दुबैले पटक९पटक भनेका थिए, ‘कमरेड ओलीसँग हामी लडौंला । तर तपाई मिल्नुहोस् । त्यति पर पनि नजानुहोस् की यो लडाईले पार्टी नै विभाजन होस् । हामी नमिल्दा वा लड्दा पार्टी ब्रेक हुदैंन तर तपाई नमिल्दा पार्टी ब्रेक हुन्छ ।’

ओली र प्रचण्ड मिल्दा आफ्नो समूह किनारामा पर्ने तर एकता जोगिने उनीहरुको निचोड थिए । उनीहरुले भनेका थिए, ‘हामी किनारामा परेर होस् । अन्याय सहेर होस् । अहिले एकता बचाइराख्नुपर्छ । एकता जोगियो भने सबै जोगिन्छ ।’

दशौं राष्ट्रिय महाधिवशेन हुदै गर्दा तीन मनोविज्ञान जिवित छ । एक, संस्थापन, दुई १० बुँदे समूह र तीन पूर्वमाओवादी । यी मध्ये अप्ठ्यारोमा रहेका दुई मनोविज्ञानलाई नसमेटिए एमालेमा बिग्रह आउने सबैको अनुमान छ । तर सबै नेताहरुले एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुर्न भनेका छन् । भुसालले प्रचण्डलाई दिए जस्तो, ‘आफ्नो पार्टी आफैले बनाउँने’ अवसर प्राप्त हुन्छ वा हुन्न ? त्यो केही दिनमा देखिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७