नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडका बीचमा रहने प्रक्षेपण


१० मंसिर २०७८, शुक्रबार
Janagadana

काठमाडौं, १० मंसिर । नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेका कारण जनसंख्या वृद्धिदर अपेक्षित नहुने देखिएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार बिहीवार सप्पन्न जनगणना अनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ ।

२५ कात्तिक देखि ९ मङ्सिरसम्म भएको जनगणनाअनुसार यस्तो प्रारिम्भक विश्लेषण गरिएको हो । २०६८ सालको प्रक्षेपण अनुसार २०७८ सालसम्म एक महिलाबाट औसतमा २.१ जना सन्तान जन्मनुपर्ने थियो । तर, जनगणनाबाट औसत २ जना मात्र सन्तान जन्मने गरेको देखिएको बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सन्तान उत्पादन दर प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिममा औसतभन्दा धेरै र बागमतीमा औसत भन्दा कम भएको पाइएको छ । बागमतीमा औसत एक महिलाबाट १.४ जना सन्तान जन्मिएका छन् ।

यस आधारमा नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा मात्र रहने अनुमान गरिएको श्रेष्ठले बताए । उनका अनुसार जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुने छ । पुरै नतिजा आउन भने दुई वर्ष लाग्ने भएको छ ।
एक गणकले गरे आत्महत्या, दुई जनाको मृत्यु
जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् ।

धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।

जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ । देशभर छिटपुट घटना भने धेरै भएको महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७