नेताहरु गाउँ जाँदा जनताले चोर आयो भन्न थाले : राजेन्द्र लिङदेन

‘सरकार, सरकार जस्तो छैन, संसद् संसद जस्तो छैन’


२४ मंसिर २०७८, शुक्रबार
Lingden1 20211210100221

काठमाडौं, २४ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आम नागरिकबीच राजनीतिमा वितृष्णा जागेको बताएका छन् । कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता लिङदेनले यस्तो बताएका हुन् ।

नेता लिङ्गदेनले राजनीति लिक बाहिर गइसकेको बताउँदै भने, ‘सरकार, सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यसलाई ठिक लगाउने राजनीतिक ठिक छैन । आज नेताप्रति जनताको विश्वास मरेको छ ।’

उनले कांग्रेस नेपालको जेठो राजनीतिक दल भन्दै महाधिवेशनको पूणर्सफलता व्यक्त गरे । उनले भने, ‘२०४७ पछि देशमा बनेका कुनै पनि सरकारले कुनै पनि कार्यकाल पूरा गर्न सकेनन् । नफुटेको कुनै दल भएनन् । कान्छो दल विवेकशिल फुट्यो ।’ उनले राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूणर् समानुपातिक संसद्, सांसद्ले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरेर जान सल्लाह दिए ।

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुन चाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनले भने ।

महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गरे । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए । ‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूणर् समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔं’, लिङ्देनले भने । उनले काँग्रेसको १४ औँ महाधिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७