राजासँगको सेटिङमा चलेको थियो प्रचण्डको जनयुद्ध : ओली


२९ मंसिर २०७८, बुधबार
Kp Oli 1230

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरताका संवाहकको संज्ञा दिएका छन् ।

सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित ४४ जनालाई बुधबार शपथ ग्रहण गराउने क्रममा उनले यस्तो बताएका हुन् । ‘देशमा अस्थिरताका दुई संवाहक प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी हुन् । यी दुई अस्थिरताका शक्ति हुन् । अस्थिरताका शक्तिसँग एकता गर्न सकिँदैन’, उनले भने, ‘यिनीहरुको ’कनेक्सन’ कहाँ छ हामीलाई थाहा छ । उनीहरुको स्विच कहाँ छ ? हामीलाई थाहा छ ।’

उनले महान् जनयुद्ध भनेर दरबारसँगको सेटिङमा हजारौं नेपालीको ज्यान लिइएको पनि आरोप लगाएका छन् । ‘महान् जनयुद्ध भनेर युवा र जनतालाई उरालियो। युवाहरु ज्यान दिन तयार भए । युद्धमा होमिए । परिवर्तन भयो भनियो । तर हतियार कहाँबाट आए फर्केर हेर्न दिइएन’, उनले भने, ‘एउटा ’सेन्टिमेन्ट’ ल्याइयो । माओवादीलाई कसलाई हतियार दियो ? कसैले याद गरेनन् ।’

उनले नेपालमा जनयुद्ध नै अस्थिरताका लागि गरिएको पनि बताए । ‘जनयुद्ध अस्थिरता बढाउन ल्याइएको हो । अस्तव्यस्त बनाइदिएर दुनो सोझ्याउन खोजियो । बाहिरका अरु देशमा तालिम दिइन्थ्यो बकाइदा’, उनले थपे, ’महान् क्रान्तिको एउटा सेन्टिमेन्ट बेचेर जनता मारियो । तर यो जनयुद्धको सेटिङ दरबारसँग थियो ।’

उनले २०६० मा प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रबीच ५ बुँदे सहमति नै भएको दाबी गरे । ‘प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएको थियो । २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच भएको ५ बुँदे सहमति खोजौं न । अरुलाई थाहा नभए उनीहरु जान्दछन्’, उनले भने, ‘के सहमति भएको थियो ? त्यसबेला कसकाविरुद्ध के सहमति भएको थियो ? भन्नुपर्‍यो ।’

ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्र जनयुद्धका उद्गम थलो रोल्पा-रुकुमसहितका पुगेर अभियान चलाएको पनि बताए । त्यही सहमतिका आडमा ज्ञानेन्द्रले अभिनन्दनको उधुम मच्चाएको पनि उनले बताए । त्यही सहमतिपछि राजाले रुकुम र रोल्पासम्म पुगेर अभियान चलाए । जहाँ अरु दलका नेता जान पनि सक्दै नथिए’, उनले भने, ‘यता काठमाडौंमा पनि राजाले थापाथलीदेखि मंगलबजारसम्म हिँडेर उधुम मच्चाए । यसले जनयुद्ध नै विदेशी र दरबारको सेटिङमा चलेको भन्न समस्या पर्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७