महामन्त्रीमा जितेपछि गगन थापाले भने, ‘अब थाक्ने र चुक्ने सुविधा छैन’


१ पुष २०७८, बिहीबार
51639650977

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् ।
महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग प्रतिक्रिया दिंदै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् । ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु’ उनले भने ।

यो महाधिवेशनले कांग्रेसलाई सम्पूणर् रुपमा नेतृत्व बदल्ने अवसर दिए पनि महाधिवेशनले त्यो म्याण्डेट नदिएको भन्दै यसलाई स्वीकार्नु पर्ने बताए । आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने पनि थापाले बताए ।

‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो । उहाँ चुक्नुभयो भने पार्टीको निणर्य गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो’ उनले भने । थापाले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर जान आग्रह गरे । पार्टीको महाधिवेशनमा तलदेखि माथिसम्म निर्वाचन गर्दा नेता-कार्यकर्ताहरुबीच घाउ लागेको र दूरी बढेको भन्दै यसलाई कम गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७