माओवादीले प्रदेश-१ र बागमतीमा सहमतिबाट नेतृत्व छान्न सकेन, चुनाव गर्न प्रचण्डको निर्देशन


५ पुष २०७८, सोमबार
perish dada party

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश-नम्बर १ र बागमती प्रदेशमा सहमतिबाट नेतृत्व चयन गर्नका लागि गरेको असफल भएको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आए पनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर-१ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।

माओवादी केन्द्र प्रदेश-१ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश-१ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयन थाँती छ ।

आकांक्षीहरु बढेका र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारी बिना नै प्रदेश कमिटी चयन गरिएको थियो । त्यसपछि सहमतिको प्रयास भए पनि आकांक्षीहरु पछि नहट्दा समस्या ज्युँकोत्यू रहेको थियो । सुरुमा प्रदेश-१ को अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गरेका थिए । तर, सहमति जुट्न नसकेपछि अन्तिम अवस्थामा तीनै जना आफ्नो दाबेदारीबाट पछि हटेका थिए ।

अहिले आएर माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । पाँचथरका हर्कबहादुर लावती, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् ।

यस्तै बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिए पनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन । सदस्यमा पनि सबैलाई समेट्न नसकिएको भन्दै असन्तुष्टिका स्वरहरु सुनिएका छन् । मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो ।

बागमतीको अध्यक्षको दौडमा सरल सहयात्री, काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडालगायत रहेका छन् । यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि उनी सो दौडबाट बाहिर रहेको बताइएको छ ।

यी प्रदेशबाहेक प्रदेश २ मा पनि नेतृत्व चयन गर्न सकस परेको थियो । तर, अहिले प्रदेश कमिटीको टुंगो लगाएर पछि नेतृत्व घोषणा गर्नेगरी लालबन्दीको बन्दसत्रबाट आइतबार टुंगो लागेको नेताहरुले बताएका छन् । उसो त अन्य प्रदेशमा पनि नेतृत्वको विषयमा निकै रस्साकस्सी परेको भए पनि अन्तिम समयमा आएर सहमति जुटाइएको थियो । केन्द्रको निर्देशनसँगै निर्वाचन कमिटीले अब निर्वाचन प्रक्रिया अघि बढाउने माओवादीका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७