क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धी : पहिलो पटक वान डे मान्यता


१ चैत्र २०७४, बिहीबार
Nepal criket photo

काठमाडौं, १ चैत : विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुआ न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो। यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।

Nepal criket photo

जिम्बाब्वे सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफमा नेपालले पपुआ न्यूगिनीलाई ६ विकेटले सहज पराजित गरेको थियो। अर्को प्रतिस्पर्धामा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि एकदिवसीय मान्यताको ढोका खुलेको हो।आजका खेलहरूको परिणामबाट नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गरेको छ भने हङकङले आफूसँग भएको मान्यता गुमाएको छ।

सुपर सिक्स प्रवेश गरेकाे  स्कटल्यान्ड र युएईले  पनि एकदिवसीय मान्यता पाएकाे छ । नेदरल्याण्डले यसअघि नै एकदिवसीय मान्यता पाइसकेको छ । प्रतियाेगितामा चार टिमले मान्यता पाउने छ । नेपालले सन् २०२२ सम्मका लागि वान डे राष्ट्रको मान्यता पाएको हो ।  एकदिवसीय मान्यता पाउनु भनेको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुल्नु हो । आइसिसीले डिभिजन–१ वा एकदिवसीय मान्यता पाएका राष्ट्रहरूलाई वार्षिक बजेट छुट्याएको हुन्छ ।

अब आइसिसीका अनुसार यस समूहमा रहने राष्ट्रले प्रतिवर्ष ७ देखि ८ करोड नेपाली रुपैयाँ प्राप्त गर्छ । आइसिसीले उपलब्ध गराएको बजेट स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।

यसैगरी, आइसिसीले आयोजना गर्ने विश्व क्रिकेट च्याम्पियनसिप, इन्टरकन्टिनेन्टल कप र एसिया कपजस्ता ठूला अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउन अवसर पाउँछ ।

ऐतिहासिक सफलतापछि नेपालका कप्तान पारस खड्काले गरेको ट्विट :-

Parash Khadka 1

सातौँ स्थानका लागि हुने खेलबाट निर्णय हुने एसोसिएट राष्ट्र (पपुवा न्युगिनी)बाहेक हङकङ र नेपालमध्ये एकले एसिया कपमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीबीच प्रतिस्पर्धा हुनेछ । ४ वर्षको मान्यताप्राप्त राष्ट्र बन्दा आइसिसीले प्रत्येक महिना सार्वजनिक गर्ने एकदिवसीय वरीयतामा स्थान पाउनेछ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गर्न नेपाल सफल भएको हो। डिभिजन ५ बाट यात्रा थालेको नेपालले यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो। तर न्यूजिल्याण्डमा भएको उक्त प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नेपाल नवौँ स्थानमा सीमित हुँदै डिभिजन ३ मा घटुवा भएको थियो। सो बेला हङकङ, युएई, स्कटल्याण्ड र पपुआ न्यूगिनीले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो।

पपुवा न्यूगिनी बिरुद्ध उत्कृष्ट प्रर्दशन

ODI Nepal Team

जिम्बाब्वेको हरारेमा सम्पन्न खेलमा प्रतिद्वन्द्वी पपुआ न्यूगिनीलाई ११४ रनमा रोकेपछि नेपालले १६२ बल नखेली २३ औँ ओभरमा विजय लक्ष्य पूरा गरेको थियो। टस जितेर बलिङ रोजेको नेपालले पपुआ न्यूगिनीलाई सुरुदेखि देखि नै दबाव राखेको थियो।

टस जितेर बलिङ रोजेको नेपालले पपुआ न्युगिनीलाई सुरुदेखि नै दबावमा राखेको थियो। नेपालका तेज गतिका बलरहरू सोमपाल कामी र करण केसीले पपुआ न्यूगिनीका प्रारम्भिक ब्याट्सम्यानहरूलाई प्याभिलिएन फर्काउँदै रनको गति रोकेका थिए।

त्यसपछि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४ / ४ विकेट लिएपछि पपुआ न्यूगिनी २७.२ ओभरमा अलआउट हुनपुग्यो। आफ्नो ब्याटिङको पालोको नेपाली टोली सुरुमा केही धर्मराएको जस्तो देखिएको थियो।

कप्तान पारस खड्का पनि २० रन बनाएर प्याभिलिएन फर्किँदा नेपाल ३५/३ को स्थितिमा थियो। तर त्यसपछि ऐरी र आरिफ शेखले चौथो विकेटको लागि ६७ रनको साझेदारी गर्दै खेललाई जिततिर डोहोर्‍याए। ऐरीले अविजित ५० रन बनाए भने शेख २६ रन बनाएर आउट भएका थिए। रोहित पौडेलले अविजित २ रन बनाएका थिए। उत्कृष्ट प्रदर्शनी गरेका ऐरी म्यान अफ द म्याच घोषित भए।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७