एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

‘मलाई प्रधानमन्त्री बनाउने लिखित सहमति गर्दा पनि ओलीले धोका दिए’


८ पुष २०७८, बिहीबार
Prachanda 2

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कै कारण गठबन्धन नटुट्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूहरुबीच उच्चस्तरीय सहमति रहेकाले एमसीसीकै कारण गठबन्धन नटुट्ने दावी गरे । ‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नु भएको छ,’ उनले भने, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

एमसीसीको सन्दर्भमा छलफल गर्न बुद्धिजीविसँग छलफल गर्नको लागि आफूले प्रधानमन्त्रीलाई प्रस्ताव राखेको अध्यक्ष प्रचण्डले बताए । ‘हिजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भयो, बुद्धिजीवि नागरिकहरूको बैठक बस्ने कि भन्ने थियो, हाम्रो राष्ट्रिय सम्मेलन आइसकेकाले त्यसपछि गर्न सहयोगी भावना देखाउनु भयो,’ उनले भने, ‘उहाँले पनि यो विषयलाई बुझ्नु भएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने मलाई लाग्दैन ।’

अध्यक्ष प्रचण्डले एमसीसीमा सुधार गर्नुपर्ने पक्षहरु रहेकाले त्यसलाई सच्याएर मात्र अगाडि बढाउन सकिने बताए । एमसीसीको बारेमा अध्ययन गर्नको लागि गठबन्धनले कार्यदल बनाएको र त्यसले काम गरिरहेकाले त्यसपछि यसको सन्दर्भमा साझा धारणा बनाउन सकिने स्पष्ट पारे । अध्यक्ष प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मलाई प्रधानमन्त्री बनाउने लिखित सहमति गर्दा पनि ओलीले धोका दिए’, उनले भने, ‘दुई पार्टी मिलाएर नेकपा बनाउँदा अध्यक्ष र प्रधानमन्त्रीमा पनि आधा आधा सहमति भएको हो । तर लिखित गर्दा पनि केपी ओलीले धोका दिए ।’ उनले ओलीले बीचमा आएर प्रधानमन्त्री छाड्न नमानेको पनि उनले बताए ।

‘आधा कार्यकाल पूरा भएपछि अन्य नेताहरू समेत साक्षी राखेर ओलीले बजेटसँगै मलाई सत्ता हस्तान्तरण गर्ने भने’, दाहालको भनाइ थियो, ‘झलनाथ, माधव र वामदेवले लिखित सहमति गरौं भन्नु भएको थियो । तर यति कुरामा किन लिखित चाहियो भनेर म नै मानिनँ, अन्तिममा ओलीले धोका थिए ।’ उनले ओलीसँग पार्टी एकता प्रस्ताव आफूले नै गरेको पनि बताए । ‘पार्टी एकता प्रस्ताव मैले नै गरेको हो । मलाई यसमा पश्चाताप छैन’, उनले भने, ‘देशमा राजनीतिक स्थायित्व पनि आउँछ भनेर गरेको थिएँ तर ओलीले बिगारे ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७