नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !


९ पुष २०७८, शुक्रबार
cyber security

काठमाडौं । काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् ।

उनले चिट्ठामा परेको लाखौं रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्ड समेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने । चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन ।

विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित) समेत यसरी ठगिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन) ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

यी प्रतिनिधि घटनाका पीडित आफूले नभरेको च्टिठा पाउने प्रलोभनमा ठगिएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले उनीहरूको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ । फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोगबाट गत वर्ष तीन हजार नौ सयभन्दा बढी पीडित भएका छन् ।

साइबर ब्युरोका प्रमुख (प्रहरी नायब महानिरीक्षक) रामकृपाल साहले ठगिनेमा सामान्य व्यक्तिका साथै शिक्षितसमेत रहेको भन्दै यो क्रम बढेको जानकारी दिए । साइबर अपराधका घटना पछिल्लो समय एकदमै बढेको तथ्याङ्कले देखाएको छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५-७६ मा ३५७ जना पीडित, आव ०७६-७७ मा दुई हजार ३०१ र ०७७-७८ मा तीन हजार ९०६ पीडितले उजुरी गरेका थिए ।

ब्युरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले अपरिचित व्यक्तिको प्रभाव र प्रलोभनका कारण साइबर अपराधका घटना दैनिक बढेको बताउनुभयो । ब्युरोले सातै प्रदेशअन्तर्गतका प्रहरी कार्यालयबाट अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको हेलचेक्र्याइँ र प्रलोभनका कारण अपराधका घटना दैनिक बढ्दै गएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७