जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा


११ पुष २०७८, आईतवार
nadi

डोल्पा । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादन गृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ ।

टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ । जाजरकोट-डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीबाट जगदुल्ला गाउँपालिका-१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले जानकारी दिए ।

आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा समेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको उनले बताए ।
आयोजनाको वातावरणीय अध्ययनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरी यसको सार्वजनिक सुनवाइ बाँधस्थल (जगदुल्ला गाउँपलिका-४ माझगाउँ), सुक्खा तटीय क्षेत्र (मुड्केचुला गाउँपालिका-६ नर्कु) र विद्युत गृहस्थल (मुड्केचुला गाउँपालिका-४ इल) मा यही पुस २, ४ र ६ गते सार्वजानिक सुनुवाइ गरिसकेको छ ।

आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन आगामी माघभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई भवन निर्माण गरिएका छन् । विद्युत् खरिद बिक्री तथा सम्झौताका लागि आवश्यक सहकार्य काम जारी छ । वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनास्थलसम्म जान र आउनका लागि इल, निलदहमा पुल आयोजना आफैँले निर्माण गर्ने भएको छ । जाजरकोट-डोल्पा सडकखण्डको त्रिवणीबाट इलसम्मको ११ र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल सुरु गर्न लागिएको छ ।

वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाई आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने आयोजनाको दाबी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए । विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण समक्ष प्रतिवेदन पेश गर्नुका साथै स्वीकृत गरेर खरिद बिक्रीको सम्झौता समेत तीन महिनाभित्र गरिसक्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७