गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन


१२ पुष २०७८, सोमबार
oxygen plant bb1619313521

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । यसबाट हरेक दिन २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न गर्न सकिने छ । अस्पतालमा रहेको १५ शय्याको आईसीयू र एनआईसीयू कक्ष सञ्चालन गर्न सहज भएको छ ।

साथै अस्पतालले यसको विकल्पमा ‘लिक्विड प्लाण्ट’ सञ्चालनको तयारी समेत थालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले अक्सिजन प्लान्टको परीक्षण सफल भएको जानकारी दिए । उनले भने, ‘आईसीयू र एनआईसीयू कक्ष सञ्चालनमा सहज भएको छ ।’

गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शैंयाको अत्याधुनिक एचडीयू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो । अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो । अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ ।

यसअघि राजविराजबाट ५० किलोमिटरमा रहेको इटहरीमा अक्सिजन भर्ने गरिएको थियो । प्लान्ट सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीलाई थप सेवा पाउन सहज हुने राजविराजका नवीनकुमार झाले बताए । सेवा नियमित र व्यवस्थित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालमा दक्ष जनशक्तिको पूर्ति गर्न आवश्यक देखिएको छ । अस्पतालमा जडान भएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावकै कारण बन्द रहने गर्छ ।

दक्ष जनशक्तिको अभावमा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायम रहेको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिए । भेन्टिलेटर सञ्चालनका लागि अस्पतालमा ‘क्रिटिकल केयर फिजिसियन’ ‘एनेस्थेसियोलोजिष्ट’, अहेव र नर्सको आवश्यकता रहेको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७