भारी हिमपातले सोलु-ओखलढुङ्गा सडक तीन दिनदेखि बन्द

हिउँले मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध


१६ पुष २०७८, शुक्रबार
snow 1

सोलुखुम्बु । हिमपातका कारण सोलु-ओखलढुङ्गा सडक खण्ड तीन दिनदेखि बन्द भएको छ । सडकमा बाक्लो हिउँ जमेका कारण गएको बुधवार बेलुकादेखि दुई जिल्ला बीचको सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुको पत्ताले क्षेत्रको सडकमा जमेको हिउँ डोजरले सोरेर आंशिक रुपमा सडक खुलाए पनि ओखलढुङ्गाको ठाडे क्षेत्रको सडक पूणर्रुपमा सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ । पताले र ठाडे क्षेत्रको सडकमा करिब डेढ फिट जति हिउँ जमेको स्थानीयले बताएका छन् ।

सडकमा हिउँ जमेकाले दुर्घटनाको जोखिम उच्च भएको प्रहरीले जनाएको छ । सडक बन्द भएसँगै सोलुखुम्बुबाट काठमाण्डौसहित विभिन्न जिल्लाका लागि छुट्ने तथा जिल्ला भित्रिने गाडी अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भने भइरहेको प्रहरीले जनाएको छ ।

हिउँले मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध
दुई दिनसम्म निरन्तर परेको हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका-१ र बागलुङको सीमाना पातिहाल्न र त्यस आसपास परेको हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडकमै एक फिटभन्दा बढी हिउँ जमेको छ ।

हिउँका कारण सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम दुवैतर्फबाट आएका सवारी साधन गन्तव्यतर्फ जान नपाई आएकै स्थानतर्फ फर्किएका प्रहरीले जनाएको छ । उक्त सडक प्रयोग गर्ने अन्य सवारी साधनले पनि वैकल्पिकसडक प्रयोग गरिरहेका छन् । विशेष गरी पोखरा, काठमाडौं जाने र उताबाट फर्किने सवारी साधनलाई हिउँले छेकेको छ ।

स्थानीय लहरमाया गुरुङले सडकमाथि भारी हिमपात परेको बताइन् । ‘विगतका वर्षमा जस्तै यस वर्ष पनि सवारी रोकिने गरी हिमपात भयो,’ उनले भनिन्, ‘केही दिन त यो हिउँ रहन्छ नै । त्यसैले अब वैकल्पिक बाटो रोज्नुपर्ने हुन्छ ।’ सडक वरिपरि घना जंगल भएकाले यो हिउँ छिट्टै नपग्लने उनले बताइन् । मंगलबार साँझदेखि र बुधबार रातिसम्म त्यस क्षेत्रमा भारी हिमपात भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७