एमालेमा गएका नेताहरुलाई गद्दार नभनौं, फेरि आउनु हुन्छ : प्रचण्ड


१६ पुष २०७८, शुक्रबार
prachanda 1 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो साथ छाडेर एमालेतिर गएका नेताहरूलाई अहिले नै गाली गर्न नहुने बताएका छन् ।

माओवादी केन्द्र छाडेर केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा गएका रामबहादुर थापा ‘बादल’ सहितका नेतालाई गद्दार घोषणा गर्नुपर्ने मागबारेको जवाफमा प्रचण्डले यस्तो बताएका हुन् । ‘तपाईंहरु यस्ता माग नराख्नुस्, उहाँहरु फेरि आउनु हुन्छ’, उनले भने, ‘हामीलाई छाडेर गएका साथीहरुलाई किट्नु पर्छ भन्ने छ, साथीहरु त्यस्तो नगरौं ।’

‘उहाँहरुको के भर, फेरि आउनु भयो भने नि ? फेरि अर्को दस्तावेज लेख्नु ?’, उनले सोधे, ‘आउनु भयो भने अहिले गद्दार भनेर लेखेपछि स्वागत भनेर लेख्नु ? अहिले गद्दार भनिदिँदा उहाँहरु आएपछि त राख्नु पर्ला पार्टीमा ।’ यसअघि जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी छाडेका नेता रामबहादुर थापा ‘बादल’ लगायतलाई गद्दार घोषणा गर्न माग भएको थियो ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा प्रदेश-१ का टोली नेता हर्कबहादुर नेम्वाङले यस्तो माग गरेका थिए ।
उनले माओवादीले आफैंलाई बदल्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए । प्रदेश-१ समूहले कार्यकर्ताको मूल्याङ्कन नेताको मनोमानीमा हुने गरेको बताउँदै त्यसलाई विधिसम्मत बनाउन पनि माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७