काजकिस्तानमा प्रदर्शनको क्रममा १६४ जनाको मृत्यु


२६ पुष २०७८, सोमबार
kazakhasthan Russia troops 8NhjVk6G6O

काठमाडौं । काजकिस्तानमा सरकारविरोधी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १६४ पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अुनसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएको झडपमा परी उनीहरूको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार मृत्यु भएकाहरूको संख्या अझ बढी पनि हुन सक्छ । झण्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा भइरहेको प्रदर्शनको कारण उत्पन्न अशान्तिपछि झण्डै छ हजार मानिस विस्थापित भएका छन् ।

आन्दोलनमा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको अल्माटी सहरमा मृत्यु भएको हो । मृतक संख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रूपमा देखिएको छ । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि छन् । ‘सामान्यतया देशभरको अवस्था अहिले स्थिर रहेको छ तर केही ठाउँमा सुरक्षाकर्मी बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरूले सुरक्षा कारबाही पनि चलाएका छन्’, वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपति कासिम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालासँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो । मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गरेका थिए । आन्दोलनकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् । आन्दोलनका क्रममा अरू सयौं गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७