मोरङमा पाहुनाको हत्या, ८१ वर्षका वृद्ध पक्राउ


२७ पुष २०७८, मंगलवार
death

मोरङ । मोरङको लेटाङमा गए राति एक वृद्धको हत्या भएको छ । खोटाङबाट पाहुना गएका ६० वर्षीय सीताराम बुढाथोकीको हत्या भएको हो । बुढाथोकीको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय डम्बर भुजेललाई पक्राउ गरेको छ ।

मोरङका एसपी जनार्दन जिसीका अनुसार लेटाङ नगरपालिका- २ फँडानीमा बुढाथोकीलाई भुजेलले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आँगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरे जस्तो देखिन्छ ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय शिक्षक राजेन्द्र खतिवडाका छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरे । उनका अनुसार केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा बसेका थिए । बुढाथोकीको घर लेटाङमै भए पनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७