आकर्षक गन्तव्य मुलुक खोज्दै सरकार


२९ पुष २०७८, बिहीबार
bidesh rojgar 20220113002853

काठमाडौं । वैदेशिक रोजगारलाई प्रभावकारी र उत्पादनमुखी बनाउन सरकारले आकर्षक गन्तव्य मुलुक खोज्ने भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ५५ लाख नेपाली वैदेशिक रोजगारीमा छन्। त्यसमध्ये ७५ प्रतिशत भन्दा बढी खाडी मुलुकमै केन्द्रित छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बढी पारिश्रमिक पाइने मुलुक खोज्न थालेको बताए । बेलायत, फ्रान्स, रोमानिया, क्रोनेसिया, लिथेनिया, पोल्याण्ड, टर्की, ससेल्स, मौरीसस, जापानलगायतका मुलुकमा रोजगारी खोज्न गृहकार्य भइरहेको श्रेष्ठले बताए । फ्रान्समा सेक्युरिटीका लागि पनि नेपालीले अवसर पाउने भएका छन् ।

‘वैदेशिक रोजगार उपयोगमुखी बनाउन बढी पारिश्रमिक पाइने मुलुकमा पठाउन लागेका छौं’ मन्त्री श्रेष्ठले भने। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष ९ खर्ब ६० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । नयाँ गन्तव्य मुलुक खोजेर रेमिट्यान्स २० खर्ब भन्दा बढी ल्याउने वातावरण बनाउन लागिएको सरकारले जनाएको छ । बेलायतले नेपालबाट छिट्टै १० हजार नर्स लैजाने तयारी गरेको छ । त्यसका लागि द्विपक्षीय छलफल भइरहेको छ । बेलायतमा कृषि क्षेत्रमा पनि अवसर प्राप्त हुन सक्ने सरकारले जनाएको छ ।

मन्त्री श्रेष्ठले ६ महिनाभित्र १० हजार स्टाफ नर्स पठाउने बताए । जिटुजीबाट नै श्रमिक बेलायत जाने छन् । बेलायतले स्टाफ नर्स उत्पादनका लागि नेपालमा लगानी गर्नसमेत इच्छा देखाएको छ । जापानमा स्किल कामदार पठाउनका लागि सरकारले श्रम समझदारी गरेको छ । तर श्रमिक जापान जान पाएका छैनन् । मन्त्री श्रेष्ठले जापानमा छिट्टै कामदार पठाउने बताए । कोभिडका कारण २ वर्षदेखि ईपीएसमार्फत् कोरियामा कामदार जान पाएका छैनन् । भाषा पास गरेका ९ हजारभन्दा बढी अड्केर बसेका छन् । तर, पहिलो चरणमा कोरियाले पहिल्यै गइसकेका कामदारलाई लैजान कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन गरिरहेको छ ।

पछिल्लो समयमा इजरायलमा नर्सिङ केयरमा श्रमिक जान थालेका छन् । केही महिनाभित्र १ हजार १ सय ७५ जना श्रमिक इजरायल जाने तयारीमा छन् । सुरुमा इजरायल जान एकतर्फी १ लाख ४० जारमा चार्टड उडान तोकिएको थियो । तर, अहिले टेण्डर आह्वानपश्चात् ६० हजार रुपैयाँमा श्रमिक जान पाउने व्यवस्था गरिएको, वैदेशिक रोजगारीमा जानेको तुलनामा रेमिट्यान्स निकै कम आउने गरेको भन्दै सरकारले आकर्षक गन्तव्य मुलुक खोज्न थालेको हो ।

खाडी तथा मलेसियामा कार्यतर श्रमिकको पारिश्रमिक न्यून हुँदा उपलब्धिमुलक हुन सकेको छैन । सीप सिकाउने सरकारले सातै प्रदेशमा प्रदेशस्तरीय तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । सीप सिकाएर मात्रै सरकारले अब न्यूनतम पारिश्रमिक तोकेर त्यो भन्दा कम पारिश्रमिकमा नपठाउने सरकारको तयारी छ । मलेसिया तथा खाडी मुलुकमा मात्र केन्द्रित भएको वैदेशिक रोजगारलाई प्रतिफलमुखी बनाउन सरकारले पूर्वी युरोपेली मुलुकमा रोजगारी खोज्न विशेष चासो दिएको श्रममन्त्री श्रेष्ठ बताउँछन् ।

गोकणर् विष्ट श्रममन्त्री हुँदा बेलायतमा रोजगारीको अवसर पहिचान गरेका थिए । उनले टर्कीलगायतका देशमा सम्झौताका लागि मस्यौदा तयार गरेका थिए । अघिल्लो सरकारले कार्यदल गठन गरेर वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गरेको थियो। कार्यदलले तुलनात्मक रूपमा आर्थिक स्थिति बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको थियो ।

कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्यान्ड, स्विडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने सुझाव दिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७