महामारीमा भएको उद्धार उडानको अनियमितता छानबिन गर्न मन्त्री आलेले बनाए समिति


३० पुष २०७८, शुक्रबार
himalaya airliance2022 01 14 06 19 07

काठमाडौं । कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक उद्धारका क्रममा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानसमेत कटौती गरी हिमालय एयरलाइन्सलाई जिम्मा दिएको र यात्रुसँग बढी भाडा असुलेको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर सदस्य रहेको तीन सदस्यीय समितिलाई १० दिनभित्र छानविन गरेर प्रतिवेदन बुझाउन निर्देशन भएको छ । समितिले नेपाल एयरलाइन्सको उडान कटौती गरेर निजी एयरलाइन्स हिमालयलाई जिम्मा दिनुको कारण र टिकट बिक्री गर्ने ट्राभल एजेन्सीले यात्रुहरूलाई ठगी गरेको विषयमा सत्यतथ्य छानविनको जिम्मा पाएको छ ।

‘महामारीका बेला निजी कम्पनीका जहाजलाई उडानमा सघाएको विषयमा छानविन गर्न मन्त्रीज्यूले समिति गठन गर्नुभएको हो,’ पर्यटन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले भने, ‘पहिलो लकडाउन भएको समय ११ चैत ०७६ देखि करिब एक वर्षयता भएका चार्टर्ड उडानबारे छानविन गर्न समितिले जिम्मा पाएको छ ।’

त्यतिबेला नेपाल एयरलाइन्सले ५६ वटा चार्टर्ड उडान गरेकोमा हिमालय एयरलाइन्सले २३९ उडान भरेको थियो । चार्टर्ड उडान कटौटी हुँदा निगमको वाइडबडीले दिनमा पाँच घण्टामात्रै उडान भरेको थियो । जसका कारण निगमको आम्दानीको स्रोत नै खुम्चिएको थियो ।
त्यतिबेलै हिमालयको चार्टर्ड उडानमा यात्रुसँग तीन गुणासम्म बढी भाडा असुलेको गुनासा बाहिरिएका थिए । तत्कालीन पर्यटन मन्त्रीकै मिलेमतोमा अनियमितताको आशंका सरकारले गरेको छ । त्यतिबेला योगेश भट्टराई पर्यटनमन्त्री थिए ।

अघिल्लो छानबिन समितिको प्रतिवेदन कार्यान्वयन भएन
चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा असुलेको गुनासो आएपछि ०७७ मा तत्कालीन सरकारले छानबिन समिति गठन गरेको थियो । चार्टर्डमा हङकङ र जापानमा जान अनुमति पाएका ट्राभल एजेन्सीहरूले यात्रुबाट अस्वाभाविक भाडा असुलेको गुनासो आएपछि मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले बढी भाडा असुलेको र निजी हवाई कम्पनीसँग मिलेमतो गरेको निष्कर्ष निकालेको थियो । उक्त प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि कार्यान्वयनमा आएन । हाल आलेले मन्त्रालय सम्हालेपछि पुनः छानबिन समिति गठन गरेर छानबिन गर्न लगाएका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७