स्थानीय तहको निर्वाचन संविधान सम्मत हुनुपर्छ : महामन्त्री गगन थापा


१४ माघ २०७८, शुक्रबार
Gagan Thapa

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधान सम्मत गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको प्रतिक्रिया दिए ।

कानुन संशोधन गरेर निर्वाचन गरे संविधान सम्मत् नहुने भन्दै उनले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए। पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुले सो कुरा राखिसकेको उनले उल्लेख गरे । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ । जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ति कुनैपनि विषयहरु संविधानसम्मत् छैन । यो संविधानसम्मत् नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण छैन । बोक्नु हुँदैन भन्नेकुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । र गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझीने गरीकन कुनैपनि काम गठबन्धनले गर्दैन भन्नेकुराको मलाई विश्वास छ ।’

ती कुनै पनि विषयहरु संविधान सम्मत् छैन । हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानुन संशोधन गरेर निणर्य गर्छौ भनेर जुन कुरा आइरहेको छ, गर्‍यौँ भने यो संविधानसम्मत हुँदैन’, थापाले भने ।

सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफुले अपेक्षा गरेको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७