२८ करोड राजश्व छली मुद्दामा फसाइएका उमाशंकर ११ महिनापछि २५ हजार धरौटीमा जेलमुक्त


१६ माघ २०७८, आईतवार
sna

बारा । बाराको परवानीपुर-१ का उमाशंकर रायभर करिब ११ महिनापछि आज (आइतबार) जेलबाट छुटेका छन् । राजश्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि रिहा भएका हुन् ।

नख्खु कारागारबाट उनलाई प्रहरीले केही बेरअघि हत्कडी लगाएर उच्च अदालत पाटनमा ल्याएको थियो । उच्च अदालत पाटनले नख्खु कारागारलाई उमाशंकरलाई छुटाउनका लागि भन्दै पत्र काटेको थियो । तारेख बुझेपछि उनी छुटेका हुन् ।

सर्लाही स्थायी घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका सरोजकुमार मिश्रले जागिर लगाई दिने प्रलोभन देखाई रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजश्व छलेका थिए ।

राजश्व अनुसन्धान विभागले ब्लुक्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख रुपैयाँ र जेएन सप्लायर्समार्फत १२ करोड ३ लाख रुपैयाँ छलेको अभियोग रायभरमाथि लगाएको थियो । विभागले गरेको छानबिनमा मिश्रले अरू युवाको समेत कागजात दुरुपयोग गरी ९ वटा कम्पनी खोलेर एक अर्ब चार करोड रुपैयाँ राजश्व छली गरेको देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७