जनशक्तिका अभावले थन्किए करोडौंका आईसीयू र भेन्टिलेटर


१७ माघ २०७८, सोमबार
ventiletter

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) प्रयोगमा आउन सकेको छैन । करोडौं खर्चेर जडान गरिएका महत्वपूणर् उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।

गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख खर्चेर दुईवटा भेन्टिलेटरसहित पाँच श्यया क्षमताको आईसीयू कक्ष स्थापना गरेको थियो । ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीयवासी खम थापाले बताए ।

‘तत्कालै आईसीयूमा राख्नुपर्ने बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘हेलिकप्टर चार्टर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जाँदाजादै बाटोमै ज्यान गुमाउनुपरेको छ ।’ दरबन्दी र जनशक्ति नहुँदा उपकरण भए पनि आईसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आईसीयू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दशजना स्टाफ नर्स, दुईजना परामर्शदाता र चारजना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारी दिए ।

‘५० शैंया क्षमताका अस्पतालमा हाल रहेका ७ चिकित्सक र करारका सहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ’, उनले भने, ‘आईसीयू चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपीडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ । आधारभूत सेवालाई प्राथमिकता दिनुपर्यो । आईसीयू चलाउने जनशक्तिको दरबन्दीनै छैन् । चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ ।’

गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष बनाएर डेढ वर्षअघिनै उपकरण जडान भएका थिए । अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अस्पतालको सबै शैंयामा प्लान्टबाट पाइपमार्फत अक्सिजन आपूर्ति गर्ने ब्यवस्था मिलाइएको छ । विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको आईसीयूलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७