कर्णालीमा विवादित पृष्ठभूमिका गैरसांसद लामालाई मन्त्री बनाइँदै, माओवादीमा चर्को असन्तुष्टि

तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिंदै मुख्यमन्त्री शाही


२१ माघ २०७८, शुक्रबार
karchen

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी अगाडि बढाएका छन् ।
सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवण्डा लगभग मिलिसकेको बताइएको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । शाही १६ कात्तिकमा मुख्यमन्त्री बनेका थिए । आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार, एकीकृत समाजवादीले तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी गरेपछि भागबण्डा मिलाउन सकस भएको थियो । माओवादीले तीन, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले दुई मन्त्रालय लिने सहमति नजिक पुगेको स्रोतको दाबी छ ।

माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । अब छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामा र गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निणर्य भएको प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् । सिंह जाजरकोटका प्रदेशसभा सदस्य हुन् भने हुम्लाका लामा गैरसांसद हुन् । तर, उनी विवादित पृष्ठभूमिका देखिएका छन् । ‘हामीले दुई जना मन्त्रीको टुङ्गो लगाएर केन्द्रमा सिफारिस गरेका छौं, आज नाम आउँछ’ अध्यक्ष केसीले भनिन् ।

त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बनाउने सम्भावना छ । यद्यपि निणर्य भइनसकेको एकीकृत समाजवादीकी सचेतक देवी वलीले बताइन् । ‘हामी छलफलमै छौं । तीन मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ उनले भनिन् ।

प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री छन् । नेपाली कांग्रेसबाट यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाही मन्त्री बन्ने बताइएको छ । तर टुङ्गो भने लागेको छैन । ‘कांग्रेसभित्र समस्या छैन्, मोटामोटी छलफल भइसकेको छ । हामी सरकारमा जाने सांसदको आज टुंगो लगाउछौं,’ मुख्यमन्त्री शाहीले भने ।

कार्चेन हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पनि हुन् । उनी अहिले माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी समितिका सदस्य छन् । तर उनी यसअघि चोरी मुद्दामा जेल पुगिसकेका व्यक्ति हुन् । उनीमाथि चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो मूर्ति चोरी गरेको अभियोग लागेको थियो ।

उक्त मूर्ति चोरी प्रकरणमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ सालमा लामा र छिरिङ पाल्देन लामाविरुद्ध चोरी मुद्दा चलाएको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । त्यसबेला जिल्ला अदालत हुम्लाका न्यायाधीश नीलकण्ठ उपाध्यायले लामालाई दोषी ठहर गर्दै २०५१ मा दुई वर्ष जेल सजाय सुनाएका खुलेको छ । उक्त फैसलाको सजाय र पाँच हजार जरिवाना मन्त्री हुन लागेका लामाले गत असोजमा मात्रै भुक्तान गरेको खुलेको छ ।

माओवादीबाट मन्त्री हुन लागेका सिंह अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ निकट मानिन्छन् । हुम्लाका लामा नेता शक्ति बस्नेत निकट रहेको स्रोतको भनाइ छ । तर, कर्णाली प्रदेशमा सांसदहरु हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउन लागिएको भन्दै असन्तुष्टिका आवाज सुनिन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७