प्रयोगमा आउँदै तीनमुखे पुल


२३ माघ २०७८, आईतवार
pul tinmukhe

पाल्पा । लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूणर्ता पाउन लागेको छ । पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडी जोड्नेछ ।

नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभागअन्तर्गतको झोलुङ्गेपुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीमा बनाइएको झोलुङ्गेपुलको मुख्य पिलरको लम्बाइ १७७।४ मिटरको छ । पिलर तीन जिल्लाको मध्यभागमा पर्नेगरी निर्माण गरिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने पुल निर्माणकार्य ढिलाइ भए पनि अब आशा पलाएको बताए । निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीले अहिले काम तीव्र गतिमा अगाडि बढेको बताउँदै बीचमा प्राविधिक समस्याका कारण ढिलाइ भए पनि अब कामले पूणर्ता पाउने बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७