कोन्करले रेल उपलब्ध नगराएपछि भारतीय बन्दगाहमा थुप्रिए ४ हजार कन्टेनर


२३ माघ २०७८, आईतवार

काठमाडौं । नेपाल-भारत रेलसेवा सम्झौता संशोधनले कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार त अन्त्य भयो, तर नेपालको वैदेशिक व्यापारले यसको लाभ त पाएन नै हैरानी झन् बढेर गयो ।

सम्झौता संशोधनपछि भारतकै २ निजी कम्पनी कोन्करको प्रतिस्पर्धामा उत्रिए । कोन्करले प्रतिस्पर्धी कम्पनीलाई दबाबमा राख्न चालेको चालको मार भने नेपाली आयातकर्ताले उठाउनु परेको छ । प्रतिस्पर्धी निजी कम्पनीलाई तह लगाउन स्वात्तै भाडा घटाएको कोन्करले अहिले रेल आपूर्ति पनि त्यसरी नै कटौती गरेपछि ढुवानी अस्तव्यस्त बन्न पुगेको आयातकर्ता बताउँछन् ।

कोन्करले कहिले भारतको कोलकाता र कहिले विशाखापत्तनम् बन्दरगाहमा आयातकर्तालाई समस्यामा पारेको छ । एक महिनाअघि कोलकाता बन्दरगाहमा रेल र्‍याक आपूर्तिमा झमेला गरेको कोन्करले अहिले विशाखापत्तनम् बन्दरगाहमा नियमित रेल संख्यामा कटौती गरेको हो ।

तेस्रो मुलुकबाट यो बन्दरगाह हुँदै आउने कतिपय कन्टेनर दुई महिनादेखि बन्दरगाहमै रोकिएको आयातकर्ता आशिष लाठले बताए । ‘कोन्करले रेल उपलब्ध नगराएपछि विशाखात्तनम् बन्दरगाहमा २ महिनादेखि यो समस्या आइरहेको छ । यसले समयमा मालसामान ढुवानी गर्न सकिएको छैन,’ वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव लाठले भने ।

विशाखापत्तनम्मा अहिले नेपालका लागि आएका करीब ४ हजार कन्टेनर रोकिएका छन् । यसअघि कोन्करले यो बन्दरगाहमा महीनामा २० ओटा रेल दिने गरेकोमा अहिले यो संख्या ७-८ मा झारेको बन्दरगाह स्रोतले बताएको छ । आवश्यकताको तुलनामा न्यून रेल उपलब्ध गराएकाले बन्दरगाहमा कन्टेनर थुप्रिएको हो । ‘यसअघि कोन्करको एकाधिकार रहँदा यस्तो समस्या थिएन । प्रतिस्पर्धा बढेपछि झन् समस्या थपियो,’ संघका पूर्व अध्यक्ष प्रदीप केडिया बताउँछन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७