हिमपातले प्रभावित हुम्लाको हवाई सेवा पाँच दिनपछि शुरु


२५ माघ २०७८, मंगलवार
Humla Himpat airport1230 1024x416 1

हुम्ला । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ ।

हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् ।

यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्न समेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७