प्रचण्ड-माधव गठबन्धन नभई हुँदैन भन्दै देउवाको दैलो ढुकेर बसेका छन् : ओली

‘देउवा सरकार न गाउँमा जन्मियो न अस्पतालमा !’


२८ माघ २०७८, शुक्रबार
kp oli 3 scaled 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि रोष प्रकट गरेका छन् ।

‘प्रचण्ड-माधव प्रवृत्ति आजको वामपन्थी पार्टीको खराब प्रवृत्ति हो । एक भइसकेको पार्टी उनीहरुले फुटाउने काम गरे । बहुमतको सरकार ढाल्ने काम गरे, उनीहरुले नै पार्टी फुटाए ।’ योगेन्द्र ढकाल ‘अजय शर्मा’ र अजिता जिसीलाई पार्टी केन्द्रीय कार्यालय थापाथलीमा स्वागत गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ओलीले प्रचण्ड र माधव नेपाल कम्युनिष्टको खोल ओढेर दक्षिणपन्थी बाटोमा हिंडेको आरोप समेत लगाए । उनले प्रचण्ड र माधवलाई गठबन्धन नभइ नभएको भन्दै कटाक्ष समेत गरेका छन् ।

‘उनीहरु हामी कुनै हालतमा गठबन्धन तोड्दैनौं भन्दै छन् । कांग्रेसमा शेरबहादुर बाहेक अरु नेता गठबन्धन हुँदैन भन्छन् । वामपन्थीहरु कांग्रेसको हात बिना हिंड्नै सक्दैनौं भन्छन्’, उनले थपे, ‘अहिले देउवाले पाइला राख्ने गेटमा प्रचण्ड-माधव पहिले नै पुगेर ढुकिरहेका हुन्छन् ।’
उनले प्रचण्ड र माधव नेपालसहितलाई आउँदो चुनावमा हराएर देखाई दिने समेत चेतावनी दिए । ‘अब यहाँ उनीहरुलाई छुट्याइरहनु पर्ने आवश्यकता छैन । प्रचण्ड र माधव आफूलाई कमरेड भन्छन्’, उनले भने, ‘वास्तवमा उनीहरु दक्षिणपन्थी हुन् । यी आफूलाई कमरेड भन्ने सबैलाई अबको चुनावमा गुटमुटाएर एकै ठाउँमा राखिदिनु पर्छ ।’

प्रचण्ड-माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको समेत आलोचना गर्न भ्याए । उनले देउवा नेतृत्वको सरकार अवैध भएको समेत जिकिर गरे । ‘देउवा नेतृत्वको सरकार न गाउँमा जन्मियो, न अस्पतालमा । न त संसदमा जन्मियो’, उनले भने, ‘सरकारको जन्म त संसदमा हुन्छ । बच्चाबच्ची कि घरमा जन्मिन्छन् । यो सरकार त कहाँ जन्मियो ? अदालतमा गएर पो जन्मियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७