कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट


३ फाल्गुन २०७८, मंगलवार
binod12

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

कांग्रेसको विधानअनुसार योग्यता नपुगेका चौधरीलाई कांग्रेसले केन्द्रीय सदस्यमा निर्वाचित गराएको भन्दै सोही पदका उम्मेदवार सुभाषचन्द्र यादवले उनको पद खारेज गरी उनको ठाउँमा योग्यता पुगेका उम्मेदवारलाई निर्वाचित गर्न माग गर्दै मंगलबार निवेदन दर्ता गराएका हुन् ।

उनले यसअघि निर्वाचन आयोगमा चौधरीको पद खारेजी गर्न माग गर्दै उजुरी दिएका थिए । तर, आयोगले कांग्रेसको निर्वाचन समितिकै निणर्यलाई सदर गरेपछि यादवले आयोग, कांग्रेस निर्वाचन समिति र चौधरीलाई विपक्षी बनाएर अदालतमा निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल र दलको विधानसम्बन्धी विवाद हेर्ने निकाय निर्वाचन आयोग हो । यस विषयमा निर्वाचन आयोग अर्धन्यायिक निकाय पनि हो,’ आयोगको निणर्यमा असन्तुष्टि जनाउँदै यादवले भने, ‘आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्वबाट विभुख भई दिएको निणर्य चित्तबुझ्दो भएन ।’

उनले आफ्नो निवेदनउपर संविधानको धारा ४६/१३३ बमोजिम उत्प्रेषण परमादेश माग गरेका छन् । आयोगले गत १८ माघमा यादवको उजुरीउपर निणर्य गर्दै कांग्रेस निर्वाचन समितिको निणर्य सदर गरेको थियो ।

गत मंसिरमा भएको १४ औं महाधिवेशनमा चौधरी मधेसी (खुला) तर्फ निर्वाचित भएका थिए भने यादव निकटतम उम्मेदवार हुन् । यादवले चौधरीको पद खारेज गरी आफूलाई निर्वाचित गर्न माग गरेका छन् । कांग्रेसको विधानमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । जवकि चौधरी ०७४ सालमा मात्रै कांग्रेस प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७