गठबन्धन जोगाउने, एमसीसी पास हुन नदिने रणनीतिमा प्रचण्ड


११ फाल्गुन २०७८, बुधबार
prachanda

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

काठमाडौमा शुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्नुपरेको बताएका थिए । तर उनले टेबल हुँदैमा पास गर्‍यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

‘एमसीसी टेबल हुँदैमा पास गर्‍यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्ला जस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’, प्रचण्डको भनाइ थियो । उनले टेबल गर्दैमा केही नबिग्रिने पनि बताए । ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो’, प्रचण्डको भनाइ उधृत गर्दै एक प्रदेश सदस्यले सुनाए । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णायक मोडमा आइपुग्दा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र विपक्षमा छ ।

माओवादीसँगै एकीकृत समाजवादी पनि विपक्षमा छ । गठबन्धन नै धरापमा परेपछि नचाहेर संसदमा टेबल गर्न सहमति जनाएका माओवादी अध्यक्ष प्रचण्ड अब पारित हुन नदिने रणनीतिमा छन् । प्रधानमन्त्री एवं प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग संवाद बढाएर प्रचण्डमाथि दबाब बढाएका छन् ।

तर प्रचण्ड भने गठबन्धन जोगाउने र एमसीसी फेल गराउने रणनीतिमा अघि बढेका छन् । बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा सत्ता उल्ट्याउन कैयन षडयन्त्र भइरहेको र ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने उल्लेख गरेका थिए । यो भनाइले पनि सत्ता गठबन्धन टुटाउन भइरहेका षडयन्त्रलाई रोकेर जोगाउने रणनीति देखाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७