काठमाडौं-रक्सौल रेलमार्ग : अन्तिम रुट सर्वेक्षण शुरु


१२ फाल्गुन २०७८, बिहीबार
rail
फाइल फोटो

काठमाडौं । नेपाल र भारतबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण शुरु भएको छ । रेल विभाग वरिष्ठ इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले सर्भेका लागि भारत सरकारले नेपालमा प्राविधिक टोली पठाइसकेको र सो टोलीले वीरगञ्जबाट सर्भेको काम शुरु गरेको जानकारी दिए ।

प्रवक्ता चित्रकारले नेपाल र भारतबीच भएको द्विपक्षीय समझदारीअनुसार काठमाडौं-रक्सौल ब्रोडगेज रेल सेवा सञ्चालन गर्ने ‘फाइनल लोकेसन सर्भे’ शुरु भएको जानकारी दिए । उनले भने, ‘भारत सरकारको स्वामित्वको कोंकण रेल-वे कर्पोरेसन लिमिटेड (केआरसीएल) का प्राविधिक फिल्डमा परिचालित भई सर्भे शुरु गरेका छन् । अबको डेढ वर्षभित्र सर्भेको काम सम्पन्न हुनेछ ।’

उनका अनुसार, समझदारीअनुसार सो रेलमार्गको सर्भे भारत सरकारले आफ्नै आर्थिक तथा प्राविधिक लगानीमा तयार गर्ने छन् । यो सर्भेका लागि दुई मुलुकबीच २०७८ असोज २१ गते नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

भारतको रक्सौलदेखि काठमाडौंको चोभारसम्म निर्माण गरिने यस रेलमार्गको लागि चोभारमा प्रस्तावित बाहिरी चक्रपथ, सुक्खा बन्दरगाहलगायतका आयोजना तथा काठमाडौँ तराईरमधेस दु्रतमार्गसँग समेत समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउँदै प्रवक्ता चित्रकारले त्यसका लागि रेल विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ ट्राफिक सर्भे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । कोंकणर् रेल-वे कर्पोरेसनले तयार पारेको सो अध्ययन प्रतिवेदनको प्रस्तुति २०७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गरिएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७