कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोख्रेल


१७ फाल्गुन २०७८, मंगलवार
thumb

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन् । सभापति पदका उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिए । जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि आज पुनः मतदान गरिएको थियो ।

पुनः मतदान गरिंदा एक हजार ३७१ मत खसेको थियो । नौ मत भने बदर भएको थियो । यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए ।

जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५३५ जना मतदाता रहेकामा एक हजार ४४० मत खसेको थियो भने ५१ मत बदर भएको थियो । निर्वाचित पोख्रेल नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पहिलो पार्टीको प्रवक्ता, निर्विरोध पार्टी सचिव, २०५४ सालमा वडा नं ५ को वडाध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै निरन्तर २८ वर्षदेखि पार्टीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।

यस्तै उपसभापति दुई, सचिव दुई, सहसचिव दुई, जनजाति आदिवासी सदस्य चार, दलित महिला सदस्य एक, दलित सदस्य एक, सदस्य अल्पसंख्यक वा अपाङ्गता भएको सदस्य एक, हरेक स्थानीय तहबाट महिला र खुल्ला सदस्य पदका लागि भएको मतदानको मत गणना आजै रातिदेखि शुरु हुने निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७