युक्रेनबाट बाहिरिए २९३ नेपाली


१८ फाल्गुन २०७८, बुधबार
ukrine2022 03 02 06 15 42

काठमाडौं । युरोपको युद्धग्रस्त देश युक्रेनबाट मंगलबार साँझसम्म दुई सय ९३ जना नेपाली बाहिरिएका छन् । यीमध्ये सबैभन्दा बढी पोल्यान्डमा दुई सय ३२ पुगेका छन् । त्यस्तै, स्लोभाकियामा ३९, रोमानियामा २३ र हंगेरीमा तीनजना पुगेका छन् । युक्रेनको राजधानी किभ र अर्को ठूलो सहर खार्किभबाट पनि नेपालीहरू पश्चिमी सीमातर्फ जाने क्रम जारी छ ।

‘अहिलेसम्म युक्रेनबाट चार मुलुकमा जम्मा दुई सय ९३ नेपाली पुग्नुभएको जानकारी सम्बधित मुलुकको आधिकारिक निकायबाट प्राप्त भएको छ,’ युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काले बर्लिनबाट टेलिफोनमा भने, ‘हामीसँग सम्पर्कमा आएकामध्ये सीमा क्षेत्र र भित्र ६० जनाको आसपासमा हुनुहुन्छ । उहाँहरू पनि बाहिरिने प्रक्रियामा हुनुहुन्छ ।’

सोमबारदेखि पोल्यान्ड-युक्रेन सीमा क्षेत्रमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले युक्रेनभित्र अझै कम्तीमा पनि सात सय नेपाली बाहिरिने पर्खाइमा रहेको बताए । ‘धेरै नेपाली दूतावास वा सरकारी निकायसँग सम्पर्कमा आउनु भएको छैन किनभने उहाँहरू नेपाल फर्किन चाहनुहुन्न,’ अध्यक्ष पन्तले भने, ‘पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानियासँग जोडिएका युक्रेनी क्षेत्रमा सात सयजति हुनुहुन्छ, तीन सय जति बाहिरिनु भएको छ ।’

चार मुलुक प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघका तर्फबाट सहजीकरण भइरहेको पन्तले बताए । पोल्यान्डको सीमा क्षेत्रमा नेपालीलाई राख्ने अस्थायी सेल्टर तयार गर्न लागिएको पनि उनले बताए । ‘कम्तीमा एक दिन बस्ने सेल्टर तयार गर्दै छौँ,’ पन्तले भने, ‘त्यहाँबाट पोल्यान्डका अन्य सहरमा जानका लागि यातायातको सुविधा उपलब्ध गराएका छौँ । गाडी स्ट्यान्डबाई राखेका छौँ ।’

विभिन्न मुलुक प्रवेश गरेका नेपालीका लागि नेपाल सरकारले उद्धार गर्नु आवश्यक नभएको उनले बताए । ‘मैले धेरै नेपालीसँग कुराकानी गर्दा उहाँहरू स्वदेश फर्किन चाहनुहुन्न, उहाँहरू पश्चिम युरोप जानकै लागि युक्रेन आउनु भएको रहेछ, युद्धका कारण उहाँहरूले सोचेभन्दा चाँडो जाने वातावरण बनेको छ,’ अध्यक्ष पन्तले भने ।

नेपाली राजदूत खड्काले पनि नेपालीले त्यहाँबाट चार्टर उडान वा अन्य माध्यमबाट स्वदेश फर्कन सहयोग नमागेको बताए । ‘उहाँहरूलाई युक्रेनबाट बाहिर निकाल्ने हाम्रो प्रमुख प्रयास हो, बाहिरिएकामध्ये अधिकांशले नेपाल आउने मन गर्नुभएको छैन । हामीले जबरजस्ती नेपाल लैजाने कुरा पनि भएन,’ राजदूत खड्काले भने ।

अध्यक्ष पन्तका अनुसार युक्रेनमा करिब हजार नेपाली रहेको फेला परेको छ । ‘एकथरी नेपाली पोल्यान्डको अध्यागमन पार गरेर चाहेको गन्तव्यतर्फ जाने क्रममा छन्, अर्काथरी नेपालीको ठूलो संख्या पोल्यान्ड प्रवेश गरेको, तर अध्यागमन पार हुन बाँकी छ,’ पन्तले भने, ‘करिब सात सय नेपाली युक्रेनमै हुनुहुन्छ, त्यसमध्येको ठूलो संख्या पोल्यान्ड सीमा क्षेत्रमा आउने प्रयासमा छ । युक्रेनमा हजारभन्दा बढी नेपाली रहेछन् भन्ने कुरा यहीँ आएर थाहा पायौँ ।’

सीमा क्षेत्रको भ्रमणका क्रममा कतिपय नेपाली असाध्यै पीडित रहेको पन्तले बताए । ‘६ दिनदेखि युक्रेनबाट हिँडेर आएका र मानसिक रूपमा विक्षिप्त र तनावमा रहेकालाई भेट्यौँ,’ पन्तले भने । पन्तका अनुसार युक्रेनमा रहेका नेपालीको ठूलो संख्या दलालहरूले पश्चिमी युरोप पुर्‍याइदिने आश्वासनमा पुर्‍याएका छन् । ‘नेपाली दलालले ल्याएर छाडेका र अलपत्र अवस्थामा रहेकाहरू पनि भेट्यौं । अहिले नाका खुलेपछि दलालहरू फेरि सक्रिय भएको र नेपालीसँग थप पैसा बार्गेनिङ गरेको दुःखेसो पनि उहाँहरूले पोख्नु भएको छ,’ पन्तले भने ।

पोल्यान्ड पुग्नुअघि दुःख भए पनि त्यहाँ पुगेपछि ब्रेडसहितका खानेकुरा, आधारभूत औषधि उपचार, बस्ने बन्दोबस्तको उपयोग नेपालीहरूले गरेको पन्तले बताए । ‘पोल्यान्डको पहिलो प्राथमिकता युक्रेनी शरणार्थी हुन्, त्यसपछि मात्रै विदेशी हुन्,’ उनले भने, ‘ नेपालीहरू शरणार्थी नभएका कारण युक्रेनीलाई जस्तो सुविधा छैन, तर गाह्रोसाह्रो पनि उनीहरूलाई छैन ।’

सबैभन्दा धेरै नेपालीको अहिलेको गन्तव्य पोल्यान्ड भएको छ । पोल्यान्ड भएर पश्चिम युरोपका अन्य मुलुक जान सकिने भएको हुनाले दुःख सहेर भए पनि नेपालीहरू पोल्यान्ड प्रवेश गर्न खोजेको पन्तले बताए । ‘पोल्यान्डमा शरणार्थीका रूपमा बस्ने सुविधा छ । कतिपयले स्पेन, पोर्चुगल जान्छौँ भनेका छन् र उनीहरूलाई जाने सहजता पनि हुन्छ,’ पन्तले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७