नेकपा महासचिव विप्लवको नेमकिपा अध्यक्ष बिजुक्छेसँग भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवाल समेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समय नेमकिपाका अध्यक्ष बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छैनन् । विप्लव भने अहिले राजनीतिक भेटघाट तीव्र पारिरहेका छन् । बुधबार बिहान मात्रै ‘विप्लव’ले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास हरिसिद्धिमा भेटवार्ता गरेका थिए ।

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै विप्लवले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसकै लागि साना कम्युनिस्ट पार्टीको समर्थन खोज्न विप्लव बिजुक्छेकहाँ पुगेका हुन् । विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारेज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७