अम्बे स्टिल्सले ३५ मेगावाट बिजुली पाउने


२९ फाल्गुन २०७८, आईतवार
kulman ghising

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा थप २७ मेगावाट बिजुली दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स उद्योगलाई आठ मेगावाट बिजुली आपूर्ति दिइरहेको छ ।

उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट बिजुली माग गरेको छ । प्राधिकरणले उद्योगसम्म बिजुली पुर्‍याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो ।

उद्योगसम्म बिजुली पुर्‍याउनका लागि कोहलपुर सबस्टेशनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप बिजुली आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेशन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले हिजो शनिवार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आउँदा दिनमा खुल्न सक्ने उद्योगहरूलाई बिजुली आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी बिजुली खपत गर्ने अम्बे स्टिल्सको भ्रमण गरी एक महिनाभित्र बिजुली आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूणर् पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।

‘बिजुली खपत बढाउन उद्योगहरूलाई मागेजति बिजुली दिइरहेका छौं, औद्योगिक करिडोरमा बिजुली खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रूपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अम्बे स्टिल्सले बिजुली जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको देखिएको छ, उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ बिजुली आपूर्ति दिन सकिन्छ, हाम्रो तर्फबाट कुनै समस्या छैन ।’

उनले अम्बे स्टिल्स सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र त्यो क्षेत्र औद्योगिक करिडोरका रूपमा विकास हुन लागेकोले त्यहाँ १३२ केभीको सबस्टेशन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । उनका अनुसार सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । एसियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको छ । अहिले रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनबाट झन्डै १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सबस्टेशनमार्फत आउँदा दिनमा उद्योगहरूलाई बिजुली आपूर्ति दिइने छ ।

‘खपत बढाउन र आन्तरिक रूपमा खपत गरेर जगेडा हुने बिजुली भारतमा बिक्री गर्न सकेनौँ भने बर्खामा दैनिक झण्डै पाँच सय मेगावाट बिजुली खेर फाल्नुपर्ने भयावह अवस्था आयो भने के होला ? त्यसैले ठूला उद्योगमा बिजुली खपत बढाउन केन्द्रित हुनुपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसका लागि औद्योगिक करिडोरहरूमा बिजुली आपूर्तिका लागि विद्युतीय संरचनाको पूर्वाधार निर्माण योजनाबद्ध रूपमा अगाडि बढाएका छौँ ।’

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति बिजुली दिन अहिले रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुसार काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा-पर्सा क्षेत्र, भैरहवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७