महाधिवेशनको चार महिनापछि देउवा र शेखरबीच फोन संवाद


९ चैत्र २०७८, बुधबार
deuwa shekhar

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवशन सकिएको चार महिनापछि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच संवाद भएको छ ।

गएको मंसिरमा सभापतिमा भिडेर दोस्रो चरणमा देउवा विजयी भएपछि शेखरले टेलिफोनमार्फत बधाई दिएका थिए । त्यसपछि भेटेर बधाई दिने बताएका शेखरलाई सभापति देउवाले अहिलेसम्म व्यक्तिगत भेट समेत दिएका थिएनन् । बैठक-छलफलका सामुहिक भेटबाहेक शेरबहादुर-शेखरबीच व्यक्तिगत रूपमा टेलिफोन वा प्रत्यक्ष संवाद भएको थिएन ।

बुधबार बिहान भने सभापति देउवाले शेखरलाई टेलिफोनमा सम्पर्क गरेका हुन् । दुई नेताबीच पार्टी सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ । ‘सभापति शेरबहादुर देउवा ज्यूले टेलिफोन गर्नुभएको थियो । उहाँहरूबीच पार्टी सञ्चालन र भातृसंस्थाको तदर्थ समिति गठनका विषयमा कुराकानी भएको छ’, नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘शेखर कोइरालाले पार्टी मापदण्डका आधारमा न्यायपूणर् सञ्चालन गरौँ, म तपाईंको हात बलियो बनाउन चाहन्छु भन्नु भएको छ ।’

थपलियाका अनुसार संसदीय समिति गठन र पार्टीका अरू गतिविधि सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो । ‘सभापति ज्यूले मिलाएर अघि बढ्ने हो भन्नु भएको छ’, शेखरसँगको संवादबारे थपलियाले सुनाए ।

थपलियाका अनुसार तीन दिनअघि शेखरले नै देउवासँग सम्पर्क गर्न चाहेका थिए । तर, त्यति बेला कुरा हुन सकेका थिएन । त्यसपछि विराटनगर गएका शेखरले देउवाले गरेको फोन ‘मिस’ गरेका थिए । काठमाडौं फर्किएपछि मंगलबार शेखरले फोन गरे पनि कुरा हुन नसकेपछि देउवाले आज बिहान ‘कलब्याक’ गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७