यो म्यादी सरकार हो, दिनगन्ती शुरु भइसक्यो : ओली


१७ चैत्र २०७८, बिहीबार
kp oli yIQJU20zDh scaled 1

जुम्ला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन् । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारको दिनगन्ती शुरु भइसकेको दाबी गरे ।

यो सरकार चुनावसम्म पनि नजाने उनको भनाइ छ । ‘एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ,’ उनले भने, ‘जनतालाई ढाँट्ने र छक्याउने खेलमा मात्र सरकारको सक्रियता देखियो ।’ आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उनले आग्रह गरे ।

ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए । ‘बाटो र बिजुली बनाउनु छ, देशलाई औद्योगीकरणमा लैजानु छ,’ उनले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुछ । जसको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’

उनले कणर्ालीमा राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको वास्तविक ब्राण्ड भएको बताए । उनले सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । ‘आगामी निर्वाचनपछि नाग्म-रारा जाने सडक पिच बनाएरै देखाउनेछौं,’ उनले भने, ‘नजिकै बग्ने हिमा नदीबाट के लाभ लिन सकिन्छ भन्नेबारे मेरो गम्भीर चासो छ ।’

जुम्ला आउनुअघि ओलीले दैलेखस्थित दुल्लुको अवलोकन गरेका थिए । खस सभ्यतामा दुल्लु मौसमी राजधानी थियो । उनी जुम्लाको कार्यक्रमलाई सम्बोधन गरी हेलिकप्टरबाट कालीकोट गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७