‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सुरु


१९ चैत्र २०७८, शनिबार
ganesh himal 2 scaled

म्याग्दी । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि सुरु भएको अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमूलक र्‍याली र कोणसभा गरिएको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेध : शान्ति विशेष’ र लागुऔषध तथा दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गरिने समाजका महासचिव रामकृष्ण बरालले बताए ।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, बर्दघाट र गैँडाकोट हुँदै चैत २५ गते चितवनमा समापन गरिने बरालले बताए । प्रत्येक ठाउँमा तापक्रम वृद्धिले पारेको असर र न्यूनीकरणका उपायसम्बन्धी पर्चा वितरण, सडकमा र्‍याली र कोणसभा गरिने समाजले जनाएको छ ।

समाजका सभापति गोविन्द खनालले मानव जीवनसँग सम्बन्धित हिमाल र सभ्यतासँग जोडिएको नदीलाई जोगाउन नागरिक सचेत बन्नुपर्ने अवस्था आएको बताए । ‘नदी जोगाउनका लागि हिमालय, वातावरण र पर्यावरण जोगाउन आवश्यक छ’, उनले भने, ‘हाम्रा कुकर्मका कारणले हिमाल नाङ्गिँदै गएका छन् । यसले गर्दा हिमनदी सुक्ने, जलचर लोप हुँदै जाने स्थिति सिर्जना भएको छ ।’

शान्ति समाजका पूर्वसभापति उत्तम पुडाशैनीले विगतमा राजनीतिक परिवर्तन, मानवअधिकार र लोकतन्त्रका लागि लडेको समाजले पछिल्लो समय नागरिक अधिकारका मुद्दामा केन्द्रित भएको उनले बताए । समाजका संस्थापक सभापति कृष्ण पहाडीले गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा र सुशासन राजनीतिक मुद्दा बन्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७