भारतले विजुलीको अधिक मूल्य प्रतियुनिट भारु १२ तोक्यो, नेपाललाई राहत


१९ चैत्र २०७८, शनिबार
electricty

काठमाडौं । हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोशीमा समेत जलसतह बढेको छ ।

जलसतह बढ्दा बिजुलीको उत्पादन समेत तुलनात्मकरूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका आफ्ना विद्युत् उत्पादन गृहहरूले हिउँदको समयमा पनि बढी बिजुली उत्पादन गरेका छन् । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नदीमा जलसतह बढ्न गई प्राधिकरणका आफ्ना विद्युत् गृहका उत्पादन अपेक्षितरूपमा बढेको छ ।

उनले १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ ले यतिबेला ११८ मेगावाटसम्म बिजुली नियमितरूपमा उत्पादन गरिरहेको जानकारी दिए । यतिबेला सो आयोजनाले मात्रै ६५ मेगावाट बराबर मात्रै बिजुली उतपादन गर्दथ्यो । दिनभरि पानी थुनेर राख्दा सो आयोजनाबाट पूर्ण क्षमतामा नै बिजुली उत्पादन हुने अवस्था आएको छ ।

यस्तै ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दीले पनि ६२ मेगावाट बराबर बिजुली उतपादन गरिरहेको छ । त्यस्तै ६९ मेगावाट क्षमताको तल्लो मस्र्याङ्दीले पनि विगतका वर्षहरूको तुलनामा बढी बिजुली उत्पादन गरिरहेको छ । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले पनि नियमितरूपमा १५२ मेगावाट बराबर बिजुली उतपादन गरिरहेको छ । यस वर्ष हिमाल तथा हिमरेखामा बढी हिउँ परेको तथा गर्मी पनि छिट्टै शुरु भएकाले नदीमा जलसतह बढ्न गएको छ ।

‘सामान्यता जेठको पहिलो सातामा देखिने यस्तो अवस्था अहिले चैतको तेस्रो सातामा नै देखिएको छ । यो अल्पकालीन पनि हुनसक्छ । जे भए पनि नदीमा जलसतह बढ्न जाँदा त्यसले सकारात्मक प्रभाव परेको छ’, भारप्रेषण केन्द्रका प्रमुख समेत रहेका भट्टराईले भने ।

यस्तै त्रिशूली नदी करिडोरमा रहेको २२ मेगावाटको चिलिमे र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ ले पनि अपेक्षाभन्दा बिजुली उत्पादन गरिरहेको छ । साँझको समयमा भारतबाट बिजुली आयात गर्न कठिनाइ भएका कारणले प्राधिकरणले औद्योगिक करिडोरमा पूर्ण क्षमतामा बिजुली प्रवाह गर्न सकेको छैन ।

रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको आपूर्तिमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालको ऊर्जा क्षेत्रमा समेत परेको थियो । प्राधिकरणले दैनकि ९६ वटा स्लटमा प्रतियुनिट २० भारु तिर्ने गरी बोलपत्र प्रक्रियामा सहभागी हुँदासमेत बिजुली पाउन सकेको थिएन । प्राधिकरणका अनुसार हाल दैनिक माग एक हजार ५९५ मेगावाट बराबर छ । गर्मी बढ्दै जाँदा बिजुलीको मागसमेत नियमितरूपमा वृद्धि भएको छ ।

प्राधिकरणका आयोजनाबाट कूल नौ हजार ७९८ मेगावाट घण्टा, सहायक कम्पनीबाट चार हजार ९५८ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट सात हजार ४६२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै एक हजार ८४० मेगावाट घण्टा बराबरको बिजुली भने अवरोधको अवस्थामा छ । कूल माग ३१ हजार ६५१ मेगावाट घण्टा बराबर छ ।

आन्तरिकरूपमा प्रणालीमा एक हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध भए पनि प्रणालीमा ३०० देखि ३५० मेगावाट बराबरको बिजुली अपुग भइरहेको छ । प्राधिकरणले हाल नियमितरूपमा कुलेखानी जलाशयसमेत चलाइरहेको छ । सो आयोजनाबाट नियमितरूपमा तीनवटा प्लान्टबाट १०६ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाइने
बजारमा बिजुलीको मूल्यमा अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको छ । इण्डियन इनर्जी एक्सचेञ्जमा प्रतियुनिट २० भारु बराबर पुग्दा समेत सहजरूपमा बिजुली उपलब्ध हुनसकेको थिएन । अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिए ।

आयोगले शुक्रबारदेखि नै लागू हुने गरी सो व्यवस्था गरेको हो । त्यसबाट नेपाललाई पनि हल्का राहत भएको छ । ‘बजारमा सामान पाए न सीमा निर्धारण गरेको अर्थ रहन्छ । सामान नै नपाउने अवस्था भएपछि सीमा लगाउनु र नलगाउनुको के अर्थ रहन्छ र ?’, प्रवक्ता भट्टराईले भने । भारतको नियमन आयोगले बजारमा हस्तक्षेप गरेर सीमाभन्दा माथि गएर बिजुली बिक्री नगर्न समेत भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७